Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल पुनर्बीमा कम्पनी छैठौ वर्षमा प्रवेश, जाथाभावी बीमा कार्यक्रम सञ्चालन नगर्न अर्थमन्त्रीको आग्रह

नेपाल पुनर्बीमा कम्पनी छैठौ वर्षमा प्रवेश, जाथाभावी बीमा कार्यक्रम सञ्चालन नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ २२ कात्तिक । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा ऐनमा तोकिएको प्रक्रिया पुरा गरेका कम्पनीले मात्रै बीमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । नेपालमा सहकारी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थालेसमेत बीमा कार्यक्रम सञ्चालन गरेपछि मानिसहरु अन्यौलमा परेको बताएका हुन् । नेपाल पुनर्बीमा कम्पनीको छैठौ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले धेरै संस्थाले बीमा कार्यक्रम चलाउँदा कम्पनी र एजेण्ट छुट्याउँन कठिन भएको बताएका हुन् ।

त्यस्तै, कार्यक्रममा मन्त्री खतिवडाले कम्पनीहरुलाई जति सक्दो छिटो दाबीको भुक्तानी गर्न आग्रह गरे । निर्धारित समयमा दाबीको भुक्तानी गरि बिमितलाई राहत पुराउँन समेत उनले निर्देशन दिएका छन् । त्यस्तै बीमा क्षेत्रमा बढ्दै गएको विसंगति प्रति पनि उनले चिन्ता व्यक्त गरे । “आफनै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुनुहोस्,” उनले भने । तर, बास्तविक पीडितलाई भने समयमा भुक्तानी दिन उनले आग्रह गरे ।

त्यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले पुनर्बीमा कम्पनीले नेपालबाट बाहिरिने रकमलाई नेपाल भित्र होल्ड गर्न सहयोग गरेको बताए । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईले भने कम्पनीले प्राथमिक सेयर जारी गर्ने तयारी गरेको बताए । आईपिओका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यलयमा निवेदन दिएको उनले बताए ।

२९ मुलुकमा व्यवसाय विस्तार गर्दै नेपाल पुर्नबीमा कम्पनी
नेपाल पुनर्बीमाले २९ वटा मुलुकमा आफ्नो व्यवसाय विस्तार गर्न सफल भएको छ । स्थापनाको पाँचौ बर्षको अवधिमा कम्पनीले भारत, बंगलादेश, अफ्रिका लगायतका मुलुकमा आफ्नो व्यवसाय बिस्तार गरिसकेको छ । उक्त मुलुकबाट नेपाल पुनर्बीमा कम्पनीले ८४ करोड २ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, गत आवमा कम्पनीले ६ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवमा भने कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको नेटवर्थ १२ अर्ब ५६ लाख रुपैयाँ रहेको छ भने कुल सम्पति १७ अर्ब ८० लाख रुपैयाँ रहेको छ ।

कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत लगानी रहेको छ । अन्य जीवन, निर्जीवन तथा अन्य पब्लिक कम्पनीको ३९.९६ प्रतिशत लगानी रहेको छ । सर्वसाधारण तथा कर्मचारीको लागि १६ प्रतिशत छुट्टाईएको छ ।

कम्पनीले ह्यानओभर रि, क्यानोपिअस, एभरेष्ट रि, जिआईसी रि लगतयका कम्पनीसँग रेट्रोशेसन गर्दै आएको छ ।

आतंकबादले जन्मायो पुनर्बीमा कम्पनी
२०५८ साल भदौ २६ गते अमेरिकामा भएको आतंककारी आमक्रमणबाट अर्बो रकमको क्षति भयो । परिणामस्वरुप विश्व बीमा क्षेत्रमा नै ठूलो उथल पुथल आयो । तत्पश्चात बीमा क्षेत्रमा नयाँ जोखिमको रुपमा आतंकबादको शुरुवात भयो । त्यसपछि विश्वमा आतंकबादको जोखिमको लागि छुट्टै बीमाशुल्क निर्धारण गरियो । तत्कालिन समयमा नेपालमा पनि द्वन्द्व चर्किएको थियो । विदेशी पुनर्बीमा कम्पनीले उक्त द्धन्द्धलाई आतंकबादको संज्ञा दिए ।

उक्त जोखिमको सुरक्षाको लागि थप शुल्क माग गर्न थाले । कतिपय कम्पनीले त्यस्तो जोखिमको पुनर्बीमा आनाकानी गर्न थाले । उक्त समस्यालाई समाधान गर्न सरकारको नेतृत्वमा बीमा कम्पनीहरुको संलग्नतामा २०६१ सालमा आकस्मिक बीमा कोषको स्थापना भयो । जसमा सरकारले ५ करोड र बीमा कम्पनीहरुबाट ६ करोड गरी जम्मा ११ करोड रुपैयाँको कोष खडा गरियो । २०७१ कार्तिक २१ गते सोही कोषलाई पुनर्बीमा कम्पनीमा परिणत गरियो । जसमा नेपाल सरकारको ४३.५५ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३८.३९ प्रतिशत र जीवन बिमा कम्पनी तथा अन्य पब्लिक कम्पनीको १८.०६ प्रतिशत लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x