Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विद्युतमा आत्मनिर्भर बन्ने लक्ष्य नजिक नेपाल, यसै वर्ष हजार मेगावाट थप हुने प्रक्षेपण

विद्युतमा आत्मनिर्भर बन्ने लक्ष्य नजिक नेपाल, यसै वर्ष हजार मेगावाट थप हुने प्रक्षेपण

काठमाडौं, २५ कात्तिक । अहिले नेपालको कुल विद्युत उत्पादन क्षमता एक हजार दुई सय ३६ मेगावाट छ । त्यसमध्ये ६ सय मेगावाट निजी क्षेत्रले उत्पादन गरेका हुन । जलविद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेशसँगै पछिल्लो दुई दशकमा नेपालले विद्युत् विकासमा फड्को मारेको हो ।

जलविद्युत् उत्पादनमा एक सय वर्ष लामो इतिहास र विद्युत उत्पादनका लागि जलस्रोतको अथाह सम्भावना भएर पनि नेपालले विद्युत विकासमा अपेक्षाकृत उपलब्धि भने हाँसिल गर्न सकेको छैन ।


नेपाल विद्युत प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा उच्चतम विद्युत् माग एक हजार ८९ मेगावाट थियो । जाडो महिनामा नदिको बहाबमा आधारित परियोजनाहरुबाट विद्युत् उत्पादन कुल जडित क्षमताको एक तिहाइमा आउँछ भने विद्युत्को माग वृद्धि हुन्छ । अहिले पनि नेपालले भारतबाट १०७ मेगावाट विद्युत् आयात गरिरहेको छ । हिउँदयाममा यो परिमाण चार गुणासम्म बढाउनुपर्ने हुनसक्छ । तर, वर्षायाममा भने नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन हुन थालिसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्राधिकरणका अनुसार दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी तथा सान्जेन लगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् । प्राधिकरणका सहायक कम्पनीहरुले निर्माण गर्न लागेका र अन्य निजी आयोजना निर्माण सम्पन्न भई चालु आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत ग्रिड प्रणालीमा जिडिने प्रक्षेपण प्रवक्ता अधिकारीको छ।

विद्युत् उत्पादनमा आत्मनिर्भरतासँगै बाह्य व्यापारका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने काम भइरहेको छ । पूर्वी नेपालमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनसँगै अब बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि भारतसँग सहमति जुटिसकेको छ । नेपालमा उत्पादित विद्युत् भारतीयमार्ग हुँदै बंगलादेशसम्म निर्यातका लागि बाटो खुलिसकेको छ । बजारको सुनिश्चिततासँगै जलविद्युत्मा स्वदेशी तथा विदेशी लगानी आकर्षित भएको छ ।

भारतीय लगानीमा ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत् आयोजना निर्माण भइरहेको छ । त्यस्तै, दक्षिण कोरियाली लगानीकर्ताले २सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना निर्माणका लागि हालै वित्तिय व्यवस्थापन सम्पन्न गरिसकेका छन् ।

स्वदेशी लगानीकर्ता पनि पिकिङ र जलाशययुक्त आयोजना निर्माणमा आकर्षित हुन थालेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का उपाध्यक्ष कुमार पाण्डेले जलविद्युत्मा लगानी प्रोत्साहन गर्दा स्वदेशी र विदेशी लगानीकर्तामा विभेद नगरी समान सुविधाको माग गरे ।

त्यसमा साथै लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारको काम थाल्नुपर्ने सुझाव समेत उनले दिए ।

जलविद्युत् उत्पादनमा फड्को मारेसँगै अब प्रसारण र वितरण प्रणाली सुधारमा ध्यान दिन आवश्यक छ । विद्युत्को सुलभ र विश्वसनीय आपूर्तिले नेपालमा उद्योगधन्दाको विकासका लागि मार्गप्रशस्त गर्नेछ । यसले मुलुकभित्र उत्पादन विकास र रोजगारी सिर्जनामार्फत् दिगो आर्थिक वृद्धिदर हाँसिल गर्न सहयोग पु¥याउने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x