धनगढीमा राष्ट्रिय बाणिज्य बैंकको प्रादेशिक कार्यालय सञ्चालनमा
धनगढी, २५ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकले सुदूरपश्चिम प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कैलालीको धनगढी चटकपुरमा सोमवार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यक्रममा मुख्यमन्त्री भट्टले संघीयता प्रशासनिक रुपमा मात्र नभएर सामाजिक दृष्टिकोणले पनि सेवा गर्नुपर्ने धारणा व्यक्त गरे । सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनीकरण नै अहिलेको मुख्य चुनौती रहेको बताउदै मुख्यमन्त्री भट्टले त्यसका लागि व्यवस्थापन टिम बलियो भएर लाग्नु आवश्यक रहेको धारणा राखे ।
बैंकको मुलुकभर २ सय ३८ शाखा रहेका छन् । वाणिज्य बैंकले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । सरकारी स्वामित्वमा भएको वाणिज्य बैंकले सेवाको दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयत्नमा बैंक व्यवस्थापन टिम लागिपरेको उनले बताए ।