कर्जा लिने महिला उद्यमीको संख्या ११ सयभन्दा बढी, ७६ करोड ७६ लाख सहुलियत कर्जा लिए
काठमाडौं, २५ कात्तिक । चालु आर्थिक बर्ष २०७६÷७७ को भदौ महिनासम्ममा १ हजार १ सय २१ जना महिलाले ७६ करोड ७६ लाख रुपैयाँ सहुलियत दरमा उद्यमशील कर्जा प्राप्त गरेका छन् । गत असारसम्ममा भने ७ सय ९६ महिलाले उक्त कर्जा प्राप्त गरेका थिए ।
महिलाहरुलाई उद्यमी बनाउँन सरकारले सहुलियत कर्जा कार्यक्रम सञ्चालन गरेको हो । सरकारको निर्देशन अनुसार राष्ट्र बैकले २०७५ कात्तिक २० गते सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरको हो । यो कार्यक्रम अन्र्तगत महिलाले ५ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ ।
सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पीडितको निजी आवास निर्माण कर्जा सहित सात किसिमका कर्जाका लागि सहुलियतपूर्ण कर्जा वितरण गर्दे आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत भदौसम्म कुल १९ हजार ५ सय २८ ऋणीले ३६ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् ।
कुल कर्जा रकममध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा मात्र १७ हजार ९ सय ९३ ऋणीले ३५ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको छ । शिक्षित युवा स्वरोजगार कर्जा ३० ऋणीलाई १ करोड ५७ लाख, विदेशबाट फर्केका युवा परियोजनामा ६४ ऋणीलाई ४ करोड ५१ लाख, दलित समुदाय व्यवसाय विकासमा ९४ ऋणीलाई ५ करोड, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षामा ६५ ऋणीलाई १ करोड ५९ लाख र भूकम्प पीडितको निजी आवास निर्माणमा १ सय ६१ ऋणीलाई ३ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको रहेको छ ।