१० खर्ब ८४ अर्ब ऋण बढ्यो सरकारको
काठमाडौं, २६ कात्तिक । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा सरकारको ऋण १० खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँ पुगेको छ। बाह्य ऋण ६ खर्ब ३१ अर्ब ४७ करोड र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यलयका अनुसार ऋण ३.५४ प्रतिशतले बढेको हो। सो अवधिमा बाह्य ऋण ६.२ प्रतिशतले र आन्तरिक ऋण ०.०६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
असोजसम्ममा सरकारको बाह्य ऋण ३६ अर्ब ८५ करोड रुपैयाँले बढेको छ। योमध्ये १५ अर्ब ९० करोड रुपैयाँ विदेशी विनियम क्षति (डलरमा भएको परिवर्तनका कारण) बढेको र बाँकी रकम खर्च भएको कार्यालयले उल्लेख गरेको छ। सरकारले यो अवधिमा २३ अर्ब ३९ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ। आन्तरिक र बाह्य दुवै स्रोतबाट यो रकम प्राप्त गरेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सरकारले बहुपक्षीय दाताबाट १९ अर्ब ९ करोड रुपैयाँ ऋण लिएको छ। यो रकम कूल ऋणको ७८ प्रतिशत हो। बाँकी २२ प्रतिशत ऋण द्विपक्षीय दाताबाट लिएको छ।
त्यस्तो चालु वर्षको पहिलो तीन महिनाको अवधिमा सरकारले ६ अर्ब ३० करोड रुपैयाँ ऋण तिरेको छ। यो मध्ये ३ अर्ब ५९ करोड करुपैयाँ आन्तरिक ऋण र २ अर्ब ७२ करोठ रुपैयाँ बाह्य ऋण तिरिएको हो। सरकारले विदेशी ऋणदातालाई २ अर्ब १८ करोड रुपैयाँ साँवा र ५४ करोड रुपैयाँ ब्याज तपरेको छ। आन्तरिक ऋणतर्फ कूल भुक्तानी भएको रकम नै ब्याजका लागि तिरिएको हो।
कूल गार्हस्थ उत्पादन र ऋणको अनुपात ३१.३२ प्रतिशत पुगेको छ। यस वर्ष सरकारको ऋण बढ्दा ऋण र कूद गार्हस्थ उत्पादनको अनुपात बढेको हो। गत आर्थिक वर्षको यही अवधिमा यस्तो अनुपात ३०.०६ प्रतिशत थियो। गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा यस वर्ष ऋण र कूल गार्हस्थ उत्पादनको अनुपात १.२६ प्रतिशत विन्दुले बढेको छ।