काठमाडौं, २६ कात्तिक । महानगरीय प्रहरी परिसरले जग्गा ठगी गरेको आरोपमा ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्ने अनुमति लिएको छ । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएको हो।
गत विहीबार मात्रै १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले ज्योति ग्रुपका सञ्चालक रुप ज्योति र उनकी छोरी सरुचि ज्योतिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। आइतवारमात्र अदालतले प्रहरीलाई अनुसन्धानको लागि मागेको सात दिनको समयमा पाँच दिन थप गरेको थियो। प्रहरीले उनका दाई पद्म ज्योतिलाई समेत पक्राउ गर्ने अनुमति अदालतसँग मागेको हो ।
ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो। उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर भएको हो ।