कफी आयातमा भन्सार बढायो सरकारले, तीन महिनामा सवा ३ करोडको कफी निर्यात
काठमाडौं, २८ कात्तिक। कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत बढेको छ । सरकारले विभिन्न १४ मुलुकबाट नेपालमा भित्रिने कफी वा कफी मिसिएको बस्तु आयातमा भन्सार बढाएको हो । आयातलाई निरुत्साहीत गरी व्यापार घाटा कम गर्न सरकारले यस्तो निर्णय गरेको हो ।
भन्सार विभागको विवरणअनुसार चालू आर्थिक वर्षको तीन महिनामै साढे ४ करोड रुपैयाँ बराबरको ७१ हजार किलोभन्दा धेरै कफी आयात भइसकेको छ । गत वर्ष ३८ करोड ४१ लाख बराबरको २ लाख ५० हजार १३९ किलो कफी तथा ४५ हजार ९५० किलो कफीजन्य बस्तु विभिन्न मुलुकबाट नेपाल आयात गरिएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपालले विश्वका ११ मुलुकमा झण्डै २७ हजार किलो कफी बिक्री गरेको छ । तथ्याङ्कअनुसार सो अवधिमा २६ हजार ८ सय ११ किलो कफी निर्यात भएको छ । निर्यात भएका कफीको बजार मूल्य ३ करोड १३ लाख २३ हजारभन्दा धेरै रहेको विभागले जनाएको छ । नेपाली कफी क्यानाडा, अमेरिका, जापान, ताइवान, बेलायत र यूरोपेली बजारसम्म पुगेका छन् ।
नेपालले सबैभन्दा धेरै कफी जर्मनी निर्यात गरेको छ । नेपालको लागि दोस्रो ठूलो बजार स्विट्जरल्याण्ड देखिएको छ । चालु आवको पहिलो तीन महिनामा जर्मनीमा ९ हजार २ किलो र स्विट्जरल्याण्डमा ८ हजार किलो कफी निर्यात भएको छ । दक्षिण कोरियामा ४५ सय किलो, डेनमार्कमा २ हजार किलो, अमेरिकामा १३ सय ९३ किलो, फ्रान्समा ६ सय किलो कफी निर्यात भएको छ । क्यानाडामा १३५ किलो, बेलायतमा ३२० किलो, हङकङमा २७० किलो, जापानमा ५३६ किलो तथा ताइवानमा ५५ किलो कफी नेपालबाट निर्यात भएको छ ।
भन्सार बृद्धिले स्वदेशी उद्योगलाई राहत मिल्नेछ । बंगलादेश, भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, इटाली, इन्डोनेसीया र टर्कीबाट नेपाल भित्रिने कफीको मूल्य भने बढ्नेछ ।