एकल बिन्दु सेवा केन्द्र सञ्चालनपछि लगानीकर्ताका झन्झट घटे
बलराम बुढाथोकी
काठमाडौं, २९ कात्तिक । सरकारले सञ्चालनमा ल्याएको एकल बिन्दु सेवा केन्द्रको प्रभाव बढ्दै गएको पाइएको छ । तीन वटा एकाईबाट सेवा दिँदै आएको विभागले ५ वटा एकाइ थप गरेसँगै उद्योग दर्ता र अन्य कामहरु सहज रुपमा हुन थालेको हो ।
विभागले आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, भूमी सुधार विभाग र भन्सार विभागको काम एकै ठाउँबाट दिन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
गत जेठ १ गतेदेखि उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्रको सुरुवात गरिएको हो ।
उसो त विभागले पहिले पनि उद्योग दर्ता, विदेशी लगानी स्वस्कृति र वातावरण इकाईंबाट हुने काम गरिरहेकै थियो । तर, अहिले थपिएका एकाईंहरुबाट आवश्यकता अनुसार विदेशी लगानीकर्तालाई विजनेश भिसा, विदेशी कामदारलाई नन् टुरिष्ट भिसा, उद्योग दर्ता गरेपछि प्यान नम्बर, सामान आयात गर्ने उद्योगलाई दिइने एक्जिम कोड र उद्योग खोल्नको लागि आवश्यक पर्ने जग्गाको अध्ययन जस्ता सेवा केन्द्रबाट दिइन्छ ।
यति मात्र होइन लगानीकर्ताले एक लाख अमेरिकी डलरसम्मको लगानी फिर्ता लानु परेमा सेवा केन्द्रबाट नै त्यो सुविधा पाउछन् । पहिले लगानी फिर्ता गर्नका लागि नेपाल राष्ट्र बैंकमा धाउँनु पर्ने बाध्यता थियो । सेवा सञ्चालनमा आएसँगै लगानीकर्ता राष्ट्र बैंक धाउँनु पर्ने बाध्यता हटेर गएको उद्योग विभागका सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार लगानीकर्ताले आफ्नो लगानी फिर्ता लान चाहेमा विभागमा भएको राष्ट्र बैंकको विदेशी विनिमय सहजीकरण एकाईंमा आवश्यक प्रकृया पुरा गरी लगानी वा साँवा र व्याजको मुनाफा फिर्ता लान सक्ने छन् । एक लाख भन्दा माथिको रकम फिर्ता गर्नका लागि पनि राष्ट्र बैंक जानु नपर्ने उनी बताउँछन् ।
त्यस्तै उ द्योग दर्ता गरेपछि व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर प्राप्त गर्ने व्यवस्था छ । प्यान नम्बर लिनको लागि पहिले सेवाग्राही आन्तरिक राजस्व कार्यालय नै धाउँनु पर्ने वाध्यता थियो । तर, एकल विन्दु सेवा केन्द्रले यो समस्या पनि हल गरिदिएको छ । अब उद्योग दर्ता गर्दा व्यवसायीहरुले प्यान नम्बर उ केन्द्रबाट नै प्राप्त गर्न सक्ने छन् । त्यसको लागि आन्तरिक राजस्व कार्यालयबाट एक जना अधिकृत खटाइएको छ । हालसम्म प्यान नम्बर लिनेको संख्या २५ पुगेको छ ।
विदेशी लगानी स्वीकृत भएर नेपालमा व्यवसाय गर्न चाहने विदेशीहरुलाई नेपालमा बस्न दिने विजनेश भिसा र काम गर्न आउँनेलाई नन् टुरिष्ट भिसा अध्यागमन विभागले दिने गरेको थियो । तर, यो सेवा सुरु गरेसँगै अहिले उद्योग विभागले नै दिने गरेको छ । हालसम्म विभागले विजनेश भिसा एक हजार ७६ वटा र नन् टुरिष्ट भिसा ३० वटा जारी गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।