Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

व्यावसायी रुप ज्योति तारेखमा रिहा

व्यावसायी रुप ज्योति तारेखमा रिहा

काठमाडौं, २९ कार्तिक । ठगीको आरोपमा प्रहरीले गत साता बिहीबार पक्राउ गरेका ज्योति ग्रुप अफ कम्पनीज्का उपाध्यक्ष डा. रूप ज्योतिलाई एक साता पछि तारेखमा रिहा गरेको छ । सरकारी वकिलको कार्यालयले बिहीबार मिसिल नपुगेको भन्दै फाइल प्रहरीकोमै फिर्ता पठाइदिएपछि शुक्रबार दरबारमार्ग प्रहरीले रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तारेखमा रिहा गरेको हो ।
काठमाडौं जिल्ला अदालतले देवानी दायित्व भनेर निक्र्यौल गरिसकेको मुद्दामा प्रहरीमा परेको उजुरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गर्नु र जिल्ला अदालतले जारी गरेको प्रक्राउ पुर्जीको निशेधाज्ञा माग गरेका ज्योतिको मुद्दाको अन्तिम सुनुवाइमा सर्वोच्च अदालतमा प्रधानन्यायधीश समेतको बेञ्चले निषेधाज्ञा जारी गर्नु नपर्ने भनी रुप ज्योतिको रिट निवेदन खारेज गर्नु आफैंमा आश्चर्यपूर्ण देखिएको छ । जबकी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आफैं न्यायधीश हुँदा घरजग्गा सम्बन्धि कारोबारका मुद्दामा एकमुष्ट सुनुवाई गर्दै देवानी दायित्वका रुपमा व्याख्या गरेका थिए ।
प्रहरीले यसअघि ज्योतिलाई आइतबार अदालतमा पेश गरेको थियो । रुपज्योतिमात्र होइन, ज्योति ग्रुप अफ कम्पनीज्का अध्यक्ष पद्म ज्योति समेतलाई पक्राउ गर्न प्रहरीले अदालतको स्वीकृति लिएको थियो । रुप ज्योतिमाथि ठगीको आरोपमा मुद्दा दायर गर्न प्रमाण नपुग्ने सरकारी वकिल कार्यालयको राय छ ।
रुप ज्योति पक्राउ पर्नुमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उपराष्ट्रपति नन्दबहादुर पुनका छोराको बार्गेनिङ मुख्य कारण रहेको देखिन्छ । उपराष्ट्रपति र गृहमन्त्रीका छोराले ज्योतिलाई ठगीको आरोप लगाउने विगेन्द्रकृष्ण मल्ललाई साथ दिएर फिरौती शैलीमा पाँच करोड दिएर यो विषय सल्ट्याउन दबाब दिएको बताइन्छ । पूर्व अर्थराज्यमन्त्री, पूर्व सांसद् समेत रहिसकेका ज्योति अमेरिकाको प्रतिष्ठीत हार्वर्ड विश्वविद्यालयका विद्यावारिधी हुन् । लामो व्यवसायिक विरासत बोकेका ज्योति परिवारमा रूप ज्योति स्वच्छ व्यवसायी मानिन्छन् । हार्वर्ड विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको आल्मुनिले पनि ज्योतिलाई रिहा गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघले ज्योति पक्राउका विरुद्ध आन्दोलनको तयारी गरिरहेको थियो । नेपाल चेम्बर अफ कमर्स, नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन, नेपाल निर्माण व्यवसायी महासंघ लगायतले ज्योतिको पक्राउ सुनियोजित र राजनीतिक गन्ध देखिएको भन्दै विरोध गरेका थिए ।
ज्योतिलाई फसाउने षड्यन्त्रमा सत्ताको दोहनकारी चरित्र उद्घाटित भएको छ । बादलका छोरा र पुनका छोराले ज्योतिको ल्याण्डमार्क डेभलपर्सका तर्फबाट जग्गा विकासमा साझेदार बनेको सीई कन्स्ट्रक्सनमार्फत् बाँसबारी कोलोनीमा घर बुकिङ गर्ने विगेन्द्रकृष्ण मल्ललाई साथ दिई डा. रूप ज्योतिसँग फिरौती शैलीमा पाँच करोड रुपैयाँ माग गरेका थिए ।
ल्याण्डमार्क डेभलपर्सको स्वामित्वकर्ता ज्योति ग्रुप अफ कम्पनीज्ले २०७१ मा बुढानीलकण्ठ नगरपालिका, बाँसबारी कोलोनी विकासका लागि सिई कन्स्ट्रक्सनलाई साझेदार बनाएको थियो । सीईले जग्गा प्लानिङ र विकास गरी बिक्रीका लागि छुट्याइएका प्लटमा घर बनाएर बिक्री गर्ने गरी परियोजना व्यवस्थापनको जिम्मेवारी पाएको थियो । उक्त जग्गाको एउटा प्लटमा घर खरिदका लागि सीईका कर्मचारीमार्फत् काठमाडौंका विगेन्द्रकृष्ण मल्लले एक करोड २६ लाख रूपैयाँ बुझाएका थिए । यद्यपि सो रकम सीईले ल्याण्डमार्क डेभलपर्सको नाममा जम्मा गर्न समस्या भएको थियो । सीईले बुकिङका लागि लिएको प्लट डा. रूप ज्योतिले आफैं राख्न खोजेका थिए । विगेन्द्रले बुकिङ गरेको मात्र होइन । अन्य केही प्लटहरु ज्योतिले आफैंसँग राख्न चाहेपछि सीईले कतिपयलाई बैना रकम फिर्ता ग¥यो भने कतिपयलाई आफ्नो पानीपोखरीस्थित प्लानिङमा घर दिएर सा¥यो । तर विगेन्द्रले भने रकम फिर्ता लिएनन् र झगडालाई विकराल बनाउँदै लगे ।
अदालतमा मुद्दा चल्नुअघि नै लेनदेनको विषय भन्दै महानगरीय प्रहरी अपराध अनुसन्धन महाशाखा टेकुले विपक्षी मल्लको जाहेरीमा सीई र मल्ललाई आपसी सहमति गर्न आग्रह गरेको थियो । मल्लले सीई कन्स्ट्रक्सनका नाममा जम्मा गरेको रकमको साँवा, ब्याज तथा हर्जाना तिर्न सीई कन्स्ट्रक्सनले धेरै पहल ग¥यो । तर मल्लले जिद्दी छाडेनन् । २०७१ भदौमा प्लट बुकिङको रकम मल्लले सीई कन्स्ट्रक्सनलाई बुझाएका थिए । विवादकै बीच सीईका महाप्रबन्धक शम्भुप्रसाद फुँयालले मल्ललाई रकम दिलाइपाऊँ भनी २०७४ मंसीरमामा अदालतमा रकम जम्मा गराएका थिए । मल्लसँग विवाद चर्कदैं गएपछि ल्याण्डमार्कका सञ्चालक रुपज्योतिले निषेधाज्ञाको माग गर्दै २०७५ साल असार ४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे । उक्त मुद्दा २०७५ असोज २ मा फैसला हुँदा सीईलाई बुझाएको बुकिङ रकम ल्याण्डमार्क डेभलपर्समा नपुगेकाले उक्त रकमको जिम्मा ज्योति एण्ड कम्पनीलाई नभएको फैसला गरेको थियो । न्यायधीश कविप्रसाद न्यौपानेले गरेको उक्त फैसलामा उक्त विषय देवानी दायित्वको रहेको उल्लेख गरेको छ ।
जिल्ला अदालतले निषेधाज्ञा सहितको अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेपछि ज्योतिले २०७५ मंसीर १३ मा चलनचल्तीको ब्याजसहित मल्लको पैसा फिर्ता गर्न पाउनुपर्ने माग गर्दै जिल्ल अदालतमा गएका थिए । तर मल्लले भने १६ गते ज्योतिले ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसरमा निवेदन दर्ता गराए । उनको निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले ज्योतिलाई पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला अदालतको पक्राउ पूर्जी विरुद्ध ज्योतिले २०७५ मंसीर २४ मा सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । मुद्दाको अन्तिम फैसला नभएसम्म ज्योतिलाई पक्राउ नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । कार्तिक १८ मा उक्त रिटमा अन्तिम सुनुवाई गर्दै सर्वोच्चले उक्त अन्तरिम आदेश खारेज गरिदियो । पक्राउ पूर्जी विरुद्धको अन्तरिम आदेश खारेज भएपछि काठमाडौं जिल्ला अदालतले दिएको पक्राउ पूर्जीका आधारमा प्रहरीले ज्योति र उनकी छोरी सुरुचि ज्योतिलाई गत बिहीबार सिंगापुरबाट फर्कदैं गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x