Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पाँच महिनामै व्यापारघाटा झण्डै चार खर्ब पुग्यो, राजस्व नीतिमा सुधार नगरी व्यापार घाटा घटाउन नसकिने वाणिज्य मन्त्रालयको निष्कर्ष

पाँच महिनामै व्यापारघाटा झण्डै चार खर्ब पुग्यो, राजस्व नीतिमा सुधार नगरी व्यापार घाटा घटाउन नसकिने वाणिज्य मन्त्रालयको निष्कर्ष

काठमाडौं, २६ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा व्यापार घाटा बढेर झण्डै चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु वर्षको पहिलो पाँच महिनामा ४ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको छ भने ३३ अर्ब ७२ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात १३ प्रतिशतले बढेको हो भने निर्यात १० प्रतिशतले बढेको छ ।
आयातको तुलनामा निर्यात व्यापार कमजोर हुँदा व्यापार घाटाको खाडल गरिरिदैं गएको छ । समीक्षा अवविधमा ३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात ६० अर्ब नाघेको छ भने ३५ अर्बको सवारी साधन आयात भएको छ ।
हरेक वर्ष व्यापारघाटा तीव्र रुपमा बढीरहेको भन्दै वाणिज्य मन्त्रालयले भने सरोकारवाला मन्त्रालयहरुले व्यापारघाटालाई संवेदनशील विषयका रुपमा नलिएको टिप्पणी गरेको छ । रेमिट्यान्सका कारण आयात धान्न समस्या छैन, शोधनान्तर अवस्थामा खासै ठूलो दबाब नपरेकाले व्यापारघाटा घटाउने विषयले प्राथमिकता नपाएको वाणिज्य सचिव चन्द्र कुमार घिमिरेले टिप्पणी गरे । ‘व्यापारमा खासगरी पुँजी निर्माण गर्ने र मूल्य अभिवृद्धि गरी निर्यात गर्न सकिने तथा औद्योगिक कच्चा पदार्थ आयातले भएको व्यापारघाटामा धेरै चिन्ता लिनुपर्दैन किनकी यसले भविष्यमा उत्पादकत्व बढाउँछ,’  वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले भने, ‘तर हामीकहाँ उपभोगजन्य वस्तुहरु आयात बढ्दै गएको छ जुन अर्थतन्त्रका लागि घातक हो ।’ उर्जामा आत्मनिर्भर हुन सकेमात्रै पनि व्यापारघाटा घटाउन तथा सस्तो र विश्वसनीय जलविद्युत् उर्जाको आपूर्तिबाट देशभित्रै औद्योगिक उत्पादन बढाई आयात प्रतिस्थापन गर्न सकिने उनले बताए । राजस्व नीतिमा सुधार नगरी व्यापार घाटा घटाउन नसकिने भन्दै उनले सरोकारवाला मन्त्रालयहरुले व्यापारघाटा घटाउन साझा लक्ष्य सहितको कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x