महिनौको चर्चापछि मन्त्रीमण्डल पुनर्गठन, कोही रुष्ट कोही सन्तुष्ट
काठमाडौं, ५ मंसिर । लामो समयको चर्चा परिचर्चाकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ६ मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको छ ।

केही अलोकप्रिय कार्य गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा निकै कमजोर देखिएको भनिएका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र कृषि मन्त्री चक्रपाणि खनाललाई पदमुक्त गरि नयाँलाई जिम्मेवारी दिइएको हो ।
नयाँ अनुहार मध्ये बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, धनश्याम भुसाललाई कृषि तथा पशुपंछी मन्त्रालय, ह्दयश त्रिपाठीलाई सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाई उद्योग मन्त्रालय, रामेश्वर रायलाई श्रम तथा रोजगार मन्त्रालय र पार्वत गुरुङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरुले आजै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
तर मन्त्रीमण्डल पुनर्गठनलाई लिएर केहीले असन्तृष्टि जाहेर गरेका छन् । नेकपाकै नेता प्रभु साहले गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा मन्त्री हेरफेर गरेको आरोप लगाए ।

अन्य नेता कार्यकर्ताहरुले पनि मन्त्रीमण्डल पुनर्गठन खासै उत्साहजनक नभएको टिप्पणी सामाजिक सञ्जालहरुमा व्यक्त गरेका छन् । दुई तिहाईको सरकारले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढ्दै गएको बेला जनताको मनजित्ने नयाँ मन्त्री आउने अपेक्षा गरेपनि त्यस्तो नभएको कतिपयको बुझाई छ ।

उसो त बर्खास्तीमा परेका कृषि मन्त्री खनाल र उद्योग मन्त्री यादवले प्रधानमन्त्रीसँगको व्यक्तिगत रिसईबीको आधारमा आफुहरुलाई मन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । यसले पनि मन्त्रीमण्डल पुनर्गठन कार्यसम्पादन कमजोर देखिएकै आधारमा भन्दा पनि प्रधानमन्त्रीलाई मन नपरेकाले भएको हो की भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

जसको पद जोगियो
मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य सुरु भए देखि नै गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र खानेपानी मन्त्री विना मगरलाई पनि हटाइने चर्चा थियो । तर उनीहरु सबैको पद जोगिएको छ ।
जो चर्चामा रहे
नयाँ मन्त्रीको रुपमा सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुसाल, देबेन्द्र पौडेल र महेश बस्नेतको नाम पनि चर्चामा थियो । तर उनीहरु कोही पनि मन्त्री बनेनन् ।