समय अनुसार अप्डेट हुन नसक्दा व्यवसायीका गुनासा बढेका हुन् : राजस्व सचिव ढुङ्गाना
काठमाडौं, ६ मंसिर । राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले व्यवसायीहरु नीति नियममा भएका परिवर्तनमा अप्डेट हुन नसक्दा गुनासो बढेको बताएका छन् । ऐनमा धेरै कुरा परिवर्तन भएको तर, व्यवसायीहरु अप्डेट हुन नसक्दा अहिले उनीहरुका गुनासा थपिएका सचिव ढुङ्गानाले बताए ।
बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ऐनमा भएका सुधारलाई नियालेर हेर्न उनले व्यवसायीहरुलाई अग्रह गरेका छन् । व्यवसायीहरुले पहिलेकै कुरालाई हेरेर ऐनको टिका टिप्पणी गर्ने गरेको उनको भनाइ छ । नीतिगत व्यवस्थाले व्यवसाय गर्न असहज भए त्यसलाई छलफल गरेर समाधान गर्न सरकार तयार रहेको सचिव ढुङ्गानाले बताए । उनले भने–‘तपाईंहरु नीति र नियममा के परिवर्तन भयो भनेर हेर्नु हुन्न पहिलेकै जस्तो त होला नि भन्ने अनुमानका भरमा बोल्नु हुन्छ । हामीले धेरै सुधार गरेका छौं ।’
त्यस्तै कार्यक्रममा सरकारले निर्धारण गरेको कर अत्याधिक बढी भएको व्यवसायीहरुले गुनासो गरे । भन्सारमा काम गर्ने कर्मचारीहरुले उनीहरुलाई अभद्र व्यवहार गर्ने गरेको पनि गुनासो गरे । त्यसलाई सुधार गर्न उनीहरुले सचिव ढुङ्गानालाई आग्रह गरेका छन् ।