उखुको मूल्य तोक्नै सकस, किसानले मागे ६०७ रुपैयाँ प्रतिक्विन्टल

काठमाडौं, ९ मंसीर । उखु क्रसिङ सुरु हुन लागिसक्दा पनि यस वर्ष उखुको मूल्य निर्धारण नभएकोमा किसानहरु आक्रोशित देखिएका छन् । सरकार, उद्योगी र किसानको त्रिपक्षीय बैठकबाट मूल्य निर्धारण हुँदै आएको भएपनि हरेक वर्ष मूल्य तोक्न ठूलै रस्साकस्सी हुने गरेको छ । उद्योग र कृषि मन्त्रालयका अधिकारीहरुसहित, चिनी मिलका प्रतिनिधि (चिनी मिल एसोसिएसन) तथा उखु उत्पादक किसानका प्रतिनिधिहरुले आइतबारको छलफल निष्कर्षमा पु¥याउन सकेनन् ।
उखु किसान संघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार किसानहरुले यसवर्ष प्रतिक्विन्टल ७१ रुपैयाँ मूल्य बढाउन माग गरेको बताए । उत्पादनको लागत बढेको भन्दै उनीहरुले गत वर्षको ५३६ रुपैयाँ ५६ पैसा प्रतिक्विन्टलमा ७१ रुपैयाँ बढाउन माग गरेका हुन् । यो मध्ये ६५ रुपैयाँ २८ पैसा प्रतिक्विन्टल सरकारले अनुदान बापत् उपलब्ध गराउँदै आएको छ । तर किसानहरुले भने सरकारबाट जाने अनुदान समेत किसानसम्म नपुगेको बताएका छन् । सरकारले अनुदान दिने भनेको सवा एक अर्ब रुपैयाँ किसानसम्म पुगेको छैन । त्यस्तै चिनी मिलहरुसँग डेढ अर्ब रुपैयाँ बक्यौता बाँकी छ ।
उधारोमा उखु पठाउने किसानहरुले चिनी मिलसँग पैसा उठाउन निकै संघर्ष गर्नु परेको छ । सरकारले गत वर्ष चिनि आयातमा भन्सार वृद्धि साथै परिमाणात्मक बन्देज लगाउँदासम्म उखु किसानको भुक्तानी हुन सकेको छैन । दर्जन चिनी मिलहरुले ठूलो बक्यौता बाँकी राखेपछि सरकारले दबाब दिएर तिराउने रणनीति लिएको थियो । विगत वर्षहरुमा चिनी मिलले विदेशबाट सस्तो चिनी आयात हुँदा उत्पादित चिनी बिक्री हुन नसकेको र किसानलाई भुक्तानी दिन समस्या भएको बताउँदै आएका थिए ।
उखुको भुक्तानीमा समस्या भएपछि किसानहरु क्रमशः उखु उत्पादनबाट पलायन हुँदै गइरहेका छन् । एक त नेपालका चिनी मिलहरु प्रतिस्पर्धी छैनन् । स्वदेशमै कच्चा वस्तुको उपलब्धता समेत नभएमा चिनी मिल टिक्ने आधार समाप्त हुनेछ । सरकारले नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने रणनीति लिएको भएपनि उखु उत्पादक किसानलाई प्रोत्साहन, सहुलियत तथा चिनी मिलहरुलाई प्रतिस्पर्धी बनाउनेतर्फ ध्यान दिएको देखिदैंन ।
अहिले १८ जिल्लामा साढे पाँच लाख किसानहरु उखु उत्पादनमा सक्रिय छन् । तर उखुको भुक्तानी समयमा नहुने र भुक्तानी लिनै समस्या हुने भएपछि उनीहरु पलायन हुँदै गएका छन् । एक विगाह क्षेत्रफलमा उखु उत्पादन गर्न डेढ लाखभन्दा बढी खर्च हुन्छ भने उक्त क्षेत्रफलमा करिब ५० टन उखु फलाउन सकिने कृषि मन्त्रालयको अध्ययनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *