Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले साटेन सिक्का पैसा, अरु वाणिज्य बैंकले नसाटे कारबाही हुने

राष्ट्र बैंकले साटेन सिक्का पैसा, अरु वाणिज्य बैंकले नसाटे कारबाही हुने

विवेक नगरी

धनगढी, १० मंसिर । कैलालीको टिकापुरका उमङ्ग चौधरीको धागोको व्यापार छ । दिनहुँ जसो उनकोमा सिक्का पैसा लिएर ग्राहकहरू धागो खरिद गर्न आइरहन्छन् । एक, दुई गर्दा गर्दै अहिले उनी सँग ५ हजार बढी सिक्का जम्मा भएका छन् । तर त्यो सिक्का न ग्राहकले फिर्ता लग्न मान्छन् न अन्य व्यापारीले नै ।

पाँच हजार बढी सिक्का बैंक तथा वित्तीय संस्थाहरूले साट्न नमानेपछि उनी नेपाल राष्ट्र बैंक धनगढी पुगे । साइकलमा सिक्काको थैलो बोकेर राष्ट्र बैंक धनगढी पुगेका उनलाई गेटबाटै सुरक्षा गार्डले फर्काए । सिक्का रकम साट्ने भन्दै आएका उनी राष्ट्र बैंकको गेटमै ३ घण्टा कुरे । उनी कुर्दा कुर्दै दुई जना सर्वसाधारण थपिए ।

उनीहरू पनि सिक्का साट्न पाइने आशाले राष्ट्र बैंक पुगेका रहेछन् । उनीहरूलाई गार्डले बैंक भित्र प्रवेश गर्नै नदिए पछि केही बेर विवाद चल्यो । बैंकले सिक्का साट्नै पर्ने उनीहरूको माग थियो भने बैंकले हालसम्म कसैको सिक्का नसाटेको सुरक्षा गार्डको दाबी थियो । किन राष्ट्र बैंकले सिक्का साट्दैन र ? भन्ने प्रश्नमा एक सुरक्षा गार्डले भने, ‘खै सर आजसम्म त कसैको साटेको छैन ।’
उनले थपे,‘राष्ट्र बैंकबाट सिक्का वितरण भइरहन्छ तर ग्राहकले लिएको सिक्का बैंकले साटेको छैन ।’ कागतको नोट जति पुरानो भए पनि बैंकले साटेकै छन् तर सिक्काको बारेमा त जानकारी भएन ।

टिकापुरबाट धनगढी पुगेका उंमग चौधरीले सिक्का नसाटीदा निकै हैरानी खेप्नु पर्योे । उनले भने, ‘बैंकमा पनि सिक्का साटिएन अब यो सिक्काले के गर्ने ? हामी गरिबहरूलाई त पाँच हजार भनेको सानो रकम हैन,उनले भने । बैंकले साट्न नमानेपछि बाध्य भएर उनी सिक्काको थैलो बोक्दै घर फर्किए ।

सिक्का साट्न भनेर राष्ट्र बैंक धनगढी पुगेका अर्का सेवाग्राही राजेश चौधरीले ग्राहकको सिक्का बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का बैंक तथा वित्तीय संस्थाहरूले लिन नमान्ने गरेको गुनासो गरे । उनले भने–‘बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको माग र सानो २÷४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् ।’ तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरूले साट्न मान्दैनन् ।

धनगढी शिव नगरका दीपक ऐर भन्छन् ‘पुरानो चल्तीमा १, २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ ।’ तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरूले नै । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति बनाएर भएपनि सिक्का साट्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन ।’ सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरूले नलिनु दुःखद हो ।’

अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेका छ । ‘तसर्थ मौद्रिक नीति परिवर्तन गरेरै भए पनि नेपाल राष्ट्र बैंकले सर्वसाधारण सँग भएको सिक्का साट्न आवश्यक छ ।’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाहरूले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरू समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।
सिक्का पैसा व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा स्टोरको समस्या भएका कारण सटही गर्न नसकिएको धनगढी शाखाका उप–निर्देशक डिल्लीराम पोखरेलले बताए । तर, वाणिज्य बैंकहरूले ग्राहकको सिक्का साट्नु पर्ने र साट्न नमानेको उजुरी परेमा कारबाहीको दायरामा ल्याइने उनको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x