Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक सुरक्षा कोषको एक वर्ष, ११ हजार प्रतिष्ठान मात्रै सूचिकृत

सामाजिक सुरक्षा कोषको एक वर्ष, ११ हजार प्रतिष्ठान मात्रै सूचिकृत

बलराम बुढाथोकी
काठमाडौँ, ११ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक सुरुवात गरेको आज एक बर्ष पुरा भएको छ । गत वर्ष मंसिर ११ गते विभिन्न तामझामका साथ सरकारले यस योजनाको सुरुवात गरेको थियो । तर, कोषमा रहेको विभिन्न नीतिगत अस्पष्टताका कारण २ प्रतिशत प्रतिष्ठानहरु पनि कोषमा आबद्ध हुन सकेका छैनन् ।

सरकारले संविधानमा रहेको नागरिकको बृद्ध अवस्थाको सामाजिक सुरक्षाको सुनिश्चिता भन्ने व्यवस्थालाई सुरक्षित गर्न सामाजिक सुरक्षा कोषको सुरुवात गरेको हो । यो कोषले विभिन्न ४ प्रकारका सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरेको छ ।

यस्तो खालको सुविधा लिनका लागि कोषले विभिन्न प्रावधान राखेको छ । जसका कारण श्रमिक तथा प्रतिष्ठानहरु कोष आबद्ध हुन चाहेका छैन ।

कोषका अनुसार हालसम्म कोषमा १ लाख १५ हजार भन्दा बढी श्रमिक सुचीकृत भएका छन् । ११ हजार भन्दा बढी प्रतिष्ठानहरु दर्ता भएका छन् । त्यस्तै योगदान रकम बापत कोषले १७ करोड रुपैयाँ संकलन गरेको छ भने २ जनाको दाबी परेको छ । यति छोटो अवधिमा नै कोषले यो संख्याका प्रतिष्ठानलाई आबद्ध गराउँन सक्नुलाई उपलब्धिपूर्ण मान्नु पर्ने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए । उनका अनुसार नागरिकहरुले कोषले दिने सुविधालाई बुझन नसकेको कारण सुचीकृत हुन समय लागेको हो । तर, आगामी दिनमा भने कोषमा आबद्ध हुनेको संख्या ह्वात्तै बढ्ने बताए ।

कस्ता छन् कोषले दिने सुविधा
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना :
कोषले योगदानकर्ता बिरामी भएको अवस्थामा १ लाख रुपैयाँसम्म उपचार खर्च भुक्तानी गर्छ । महिला श्रमिकले गर्भाअवस्थाको परिक्षण तथा तीन महिनासम्मको शिशुको उपचारमा लाग्ने शुल्क पनि यसमा समावेश गरिनेछ । सुत्केरी विदा बापत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम भुक्तानी गरिनेछ ।

दुर्घटना र अशक्तता सुरक्षा योजना :
व्यवसायजन्य कारणले योगदानकर्ता दुर्घटना भएको अवस्थामा लाग्ने सम्पूर्ण शुल्क कोषले व्यहोर्छ । तर, अन्य कारणले दुर्घटना भएमा ७ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । त्यस्तै, पूर्ण रुपमा अशक्तता भएका योगदानकर्ताको आधारभूत पछिल्लो पारिश्रमिकको ६० प्रतिशत रकम जीवन भर मासिक रुपमा भुक्तानी गर्छ ।

आश्रित परिवार सुरक्षा योजना :
योगदानकर्ता ६० बर्ष पुरा नहुदै मृत्यू भएको श्रीमान् वा श्रीमतीले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रुपमा प्रदान गर्छ । छोरोछोरीलाई २१ बर्ष पुग्दासम्मको लागि अध्ययन बापत ४० प्रतिशत रकम भुक्तानी गर्छ । दुई वटा छोराछोरी भएको अवस्थामा ६० प्रतिशत रकम मासिक रुपमा वितरण गर्छ ।

बृद्ध अवस्था सुरक्षा योजना
६० बर्ष पुगे पछि पेन्सन वा उपदान सुविधा प्रदान गर्छ । २०७६ असारसम्म श्रममा आबद्ध हुने श्रमिकले यो दुवै सुविधामध्ये एउटा छनौट गर्न पाउँनेछन् । तर, २०७६ साउन देखि श्रममा आबद्ध भएका श्रमिकले भने पेन्सन सुविधा अनिवार्य लिनुपर्नेछ ।

कोषमा कसरी आबद्ध हुने ?
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम कोषका जम्मा गर्नुपर्छ । जसमध्ये कोषले औषधि उपचारमा कोषले १ प्रतिशत रकम विनियोजन गर्छ । दुर्घटना तथा अशक्तताका लागि १.४ प्रतिशत, आश्रित परिवार सुविधाका लागि ०.२७ र बृद्धाअवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम विनियोजन गर्छ ।
कोषले थप गरेका योजनाहरु
सरकारले सञ्चालन गरेको कोषको आलोचना हुन थालेपछि सरकारले कर्जा योजना सञ्चालन गरेको छ । जसअनुसार योगदानकर्ताले १ करोड ५ लाख रुपैयाँसम्म कर्जा पाउँछ । जसमध्ये घरकर्जाका लागि ७५ लाख, शैक्षिक कर्जाका लागि ३५ लाख र सामाजिक कर्जाका लागि ५ लाख रुपैयाँ पाउँने व्यवस्था गरेको छ । कर्जाका लागि योगदानकर्ताले अनिवार्य रुपमा धितो राख्नुपर्नेछ ।
त्यस्तै कोषले सञ्चयकोषमा आबद्ध भै सकेको योगदानकर्ताले सञ्चय कोषबाट लिएको कर्जालाई सामाजिक सुरक्षा कोषमा स्थान्तरण गर्ने सुविधा समेत थपेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x