साढे चार खर्बको आयात, व्यापार घाटा ४ खर्ब १४ अर्ब
काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो चार महिनामा साढे चार खर्ब रुपैयाँको आयात भएको छ । आयातको परिमाण गत वर्षको भन्दा केही घटेको छ । चालु आवको सुरुवाती महिनामा आयातको वृद्धिदर दोहोरो अंकले ऋणात्मक देखिएको भएपनि चौथो महिनामा आइपुग्दा ६.९२ प्रतिशतले ऋणात्मक छ । निर्यात भने गत वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेर ३६ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ । निर्यात बढ्नुमा कच्चा पाम आयल प्रमुख निकासी वस्तुका रुपमा देखा परेको छ । इण्डोनेसिया, मलेसिया लगायत देशबाट आयत हुने पाम आयल सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको छ । नेपालमा पाम आयाल आयात गर्दा १० प्रतिशत भन्सार लाग्छ, भारतीय व्यवसायीले इण्डानेसिया र मलेसियाबाट सीधै आयात गर्दा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । नेपालमा प्रशोधनपछि भन्सार सहुलियतमा भारतीय बजारमा पाम आयल निकासी भैरहेको छ । पहिलो चार महिनामा नेपालले झण्डै साढे सात अर्बको कच्चा पाम आयाल आयात गरेर ८ अर्ब ३७ करोडको प्रशोधित पाम आयल निर्यात गरेको छ । नेपालमा उत्पादन नै नहुने पाम आयल प्रमुख निकासी वस्तुका रुपमा देखिएको छ । कुल निकासीमा पाम आयलकै निकासीमात्र २३ प्रतिशत छ ।
अन्य मुख्य निकासीमा २ अर्ब ९० करोडको यार्न, साढे दुई अर्ब रुपैयाँको कार्पेट, २ अर्बको सोयाबिन तेल र सवा अर्ब रुपैयाँको चिया र कफी निकासी गरेको छ ।
त्यस्तै प्रमुख आयातमा पेट्रोलियम, सवारीसाधन, फलाम तथा स्टीलका कच्चा वस्तु, मेसिनरी र दूरसञ्चार उपकरण रहेका छन् ।
भारत सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छ । कुल आयातमा ६०.५ प्रतिशत हिस्सा भारतको छ । त्यस्तै, निकासीतर्फ झण्डै ६७ प्रतिशत भारतमा निकासी भएको छ । भारतपछि सबैभन्दा बढी निकासी संयुक्त राज्य अमेरिकामा भएको छ । पहिलो चार महिनामा अमेरिकामा ३ अर्ब ८७ करोड रुपैयाँको निकासी भएको छ । जर्मनीमा १ अर्ब १५ करोड, बेलायतमा करिब १ अर्ब र टर्कीमा ८१ करोड रुपैयाँको निर्यात भएको छ । टर्कीमा नेपालबाट धागो निर्यात हुने गरेको छ । अमेरिका, बेलायत र जर्मनीमा हस्तकलाका सामान, कार्पेट मुख्य निकासी वस्तुका रुपमा रहेका छन् ।
त्यस्तै, आयाततर्फ भारतपछि चीनबाट सबैभन्दा बढी आयात हुने गरेको छ । उत्तरी छिमेकी चीनबाट ८० अर्बको आयात भएकोमा चीनमा निर्यात भने जम्मा ७१ करोड रुपैयाँ रहेको छ । चीनपछि इण्डोनेसियाबाट धेरै आयात हुने गरेको छ । नेपालले इण्डोनेसियाबाट धेरै जसो पाम आयल आयात गरिरहेको छ ।
चालु आवको पहिलो चार महिनामा भन्सारबाट ८१ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४६ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । आयातको ऋणात्मक वृद्धिको असर राजस्वमा देखिएको हो । आयातमुखी राजस्वका कारण आयात घट्दा भन्सार महशुल मात्र नभएर मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा समेत असर पुगेको छ ।