नेपालमा लगानीका अवसर

डा. युवराज खतिवडा, अर्थमन्त्री

नेपालमा लगानीको अवसरको कुरा गर्दा निरपेक्षरुपमा गर्नु हुँदैन । विश्व अर्थतन्त्रमा आइरहने उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएका पछिल्ला परिदृश्यलाई पनि सँगसँगै लैजानुपर्छ । नेपालसँगै लगानीका लागि प्रतिस्पर्धा गरिरहेका मुलुकहरुको आर्थिक स्थिति र मुलुकभित्र सिर्जना गरिएका लगानीका वातावरणहरुलाई मिहिन ढंगले हेर्नुपर्छ ।
सन् विश्वमा १९८० वा सन् १९९० तथा त्यसपछिको दशमा विश्वमा जति प्रत्यक्ष विदेशी लगानी हुन्थ्यो, अहिले त्यो लगानी क्रमशः घट्दै गएको छ । लगानीको क्षमता ठूलो भएका मुलुकले अर्को ठूलो मुलुकमा गर्ने लगानी घट्दै गएको हो । तर, लगानीका सम्भावना प्रचुर भएका साना मुलुकहरुमा लगानीका अवसर घटेका छैनन् । कतिपय मुलुकहरुमा लगानी बढ्दै गइरहेका छन् । समग्रमा प्रत्यक्ष विदेशी लगानीको अब ठूलो सम्भावना रहेन भनिरहँदा जहाँ लगानी र प्रतिफलको ठूलो सम्भावना छ, त्यस्ता मुलुकको हकमा यो लागू हुँदैनन् ।

आन्तरिक र बाह्य लगानीको संभावना
अहिले विश्वमा प्रत्यक्ष विदेशी लगानीको औसत प्रतिफल दर ८÷९ प्रतिशत भन्दा धेरै छैन । तर त्योभन्दा बढी प्रतिफल दर दिने मुलुकहरु लगानीका लागि स्वतः लगानीका लागि आकर्षक गन्तव्य हुन्छन् । यसमा नेपाल पनि पर्छ । विश्वमा आर्थिक गतिविधिमा शिथिलता देखिनु भनेको अन्यत्र लगानीका अवसर खुम्चँदैछन् भन्ने हो । नेपालले भने यसको लाभ पनि प्राप्त गर्न सक्दछ । यसले नेपालमा आउन सक्ने लगानी वृद्धि गर्न पनि सहयोग गर्दछ । त्यसकारण अन्य मुलुकहरुमा लगानी र प्रतिफलको सम्भावना उच्च भएको बेलामा नेपालले प्रतिस्पर्धा गर्न नसकेकै कारण यहाँ बाह्य लगानी कम भएको थियो भन्न सकिन्छ । तर अहिले त्यसको ठीक उल्टो अर्थात् बाह्य लगानी आकर्षित गर्ने अनुकुल वातावरण नेपालमा छ ।

आन्तरिक लगानी विस्तारका सन्दर्भमा केही विषयहरु सम्बोधन गर्नुपर्ने हुन्छ । आन्तरिक लगानीका आकर्षित गर्न सबैभन्दा पहिले लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान आवश्यक हुन्छ । कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने पत्ता लगाएर अघि बढ्नुपर्छ । ती क्षेत्रमा लगानीको प्रतिफल दर र लगानीका लागि आवश्यक स्रोत कहाँबाट उपलब्ध हुन्छ त्यो पनि हेर्नुपर्छ । लगानीको सुनिश्चितता र प्रक्रियागत जटिलता एवं समस्या कसरी हल हुन सक्छन् भन्ने सवालहरु महत्वपूर्ण भएर आउँछन् ।

आन्तरिक बजार, क्षेत्रीय बजार र अन्तर्राष्ट्रिय बजारको हिसाबले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु हेर्नुपर्ने हुन्छ । आन्तरिक बजार विस्तार हुँदैछ । नागरिकहरुको खर्च योग्य आय १५÷१६ प्रतिशतले बढेको छ । यसको अर्थ १५÷१६ प्रतिशतले आन्तरिक माग नै बढ्ने भयो । आन्तरिक मागलाई संकुचित गर्ने गरी करका दरहरु परिवर्तन भएका छैनन् । त्यो हिसाबले औद्योगिक र सेवा क्षेत्रको अवसरले त्यो मागको अवसरको फाइदा लिन सक्दछ । नेपालीहरुको अहिलेको प्रतिव्यक्ति खर्च योग्य आय (डिस्पोजेबल इन्कम) हिसाबले औद्योगिक र सेवा क्षेत्रका उत्पादनको माग गर्न सक्ने छ ।

संभावनाको पहिलो क्षेत्र कृषि
नेपालीहरुको उपभोगमा संरचनात्मक परिवर्तन भइरहेको छ । नेपालीको उपभोग शैलीमा देखिएको संरचनात्मक परिवर्तनलाई सम्बोधन गर्ने गरी लगानी खोजिएको छ । कृषिमा गरिने विगतको लगानी र अहिलेको लगानीमा नै फरक देखिन थालेको छ । अन्नमा लगानी गर्ने भन्ने बित्तिकै एउटा व्यक्ति वा परिवारले गर्ने लगानी भनेर हेरिन्थ्यो । नेपालीको खाने बानी र वस्तु त्यही किसिमका थिए । नेपालीले उपभोग गर्ने वस्तुमा ७० प्रतिशत अन्नबाली हुन्थ्यो भने बाँकी हिस्सा फलफूल, तरकारी र दुधजन्य वस्तु थिए । अहिले परिस्थिति परिवर्तन भएको छ ।

नेपालीहरुको खानामा दुधजन्य उत्पादन, फलफूल, हरिया तरकारी र अन्य परिकार हुन थालेका छन् । खानामा सचेतना र स्वस्थताको खोजीले विगतको अवस्थालाई परिवर्तन गरेको छ ।
नेपालमा व्यावसायिक कृषिको ठूलो सम्भावना छ । जुन सम्भावना दक्षिण एसियामा प्रतिस्पर्धा गर्न सकिने किसिमको छ । भौगोलिक विविधताका कारण नेपालले दक्षिण एसियाका सबै मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछ । उनीहरुको देशका लागि बेमौसमी हुने किसिमका ताजा फलफूल तथा तरकारी उत्पादन गरेर बेच्न सकिन्छ । नेपालले जैविक (अर्गानिक) वा अजैविक (नन् अर्गानिक) तरकारी तथा फलफूल उत्पादन गरेर बेच्ने सामथ्र्य राख्दछ । यसले व्यावसायिक कृषिमा लगानीको प्रशस्त सम्भावना रहेको देखाउँछ । कृषि उत्पादनबाटै क्षेत्रीय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिन्छ । मध्यपूर्वमा हरियो तरकारीको बजार विस्तारको संभावना छ । त्यसैगरी पछिल्ला चरणमा भएका सम्झौताअनुसार फलफूलको बजार पनि विस्तार गर्न सकिन्छ ।

कृषि भनिरहँदा तरकारी, फलफूल, पशुजन्य र वन तथा जडिबुटीजन्य वस्तुहरुलाई पनि हेर्नुपर्छ । यसमा अथाह सम्भावना छ । भूगोल र जलवायुले नेपाललाई यो सम्भावना दिएको हो । यसमा नेपालले अन्य मुलुकसँग धेरै प्रतिस्पर्धा गर्नै पर्दैन । यो क्षेत्रमा धेरै ठूलो लगानीको आवश्यकता पनि पर्दैन । लगानीका केही जोखिम छन् । ती जोखिमको व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्छ ।

औद्योगिक उत्पादन र लगानी
सरकारले औद्योगिक वस्तुहरुमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । नेपालले प्रतिस्पर्धात्मकता कायम राखेर थोरै मात्रै संरक्षण दिएर ती औद्योगिक उत्पादन विकासको लक्ष्य राखेको छ । नेपालमा औषधिजन्य उत्पादनका लागि आवश्यक पर्ने प्राथमिक कच्चा पदार्थ उपलब्ध छन् । चाहे त्यो आयुर्वेदिक औषधि होस् वा एलोपेथिक औषधि होस्, त्यस्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नेपालमा उपलब्ध छन् । औषधिजन्य वस्तुमा नेपालबाट निर्यातको सम्भावना भएकाले यस्ता उद्योग विस्तारको सम्भावना प्रशस्त छ ।

नेपालले सम्भावना हेर्ने अर्को क्षेत्र भनेको धागोजन्य उद्योग हो । रेशम, कपास, ऊनसँग सम्बन्धित उत्पादनमा लगानीको सम्भावना छ । चाहे त्यो हातले बनाइएका हुन् वा मेसिन प्रयोग गरिएको होस्, त्यस्ता उद्योग विस्तारको अवसर नेपालमा छ । यो उत्पादनका लागि कच्चा पदार्थको अधारदेखि प्रशोधन र निर्यातसम्ममा नेपालका लागि तुलनात्मक लाभ प्राप्त गर्न सकिन्छ । यो उद्योगलाई निर्यातको तहसम्म जान सक्ने सम्भावना नेपालमा छ । मुलुकभित्रै कतिपय वस्तु उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा नेपाल विश्वस्त छ । अहिले नै ठूला–ठूला उद्योगहरु नेपालमा आइहाल्छन् भन्ने होइन । आयात भइरहेका औद्योगिक वस्तुहरु हुन् वा प्रशोधित कृषि वस्तु हुन् ती सबैमा लगानी र उत्पादन वृद्धि गर्ने सम्भावना छ ।

कच्चा पदार्थ आयात गरेर वस्तु उत्पादन गरी निर्यात गर्ने तहमा नेपाल नहुन पनि सक्छ । भौगोलिक सिमाका कारण नेपालले त्यो सुविधा प्राप्त नगर्न सक्छ । केही हलुका वस्तुमा प्रतिस्पर्धी बन्न सकिए पनि भारी वस्तुमा त्यो अवसर छैन । त्यसकारण औषधि उद्योग र कपडाजन्य उद्योगलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो । हस्तकलाका अन्य क्षेत्रहरुमा पनि प्रशस्त अवसर छन् । गलैँचा, पश्मिना र बहुमूल्य पत्थरका गहनामा यहाँ धेरै काम गर्न सक्ने अवसर छ ।

बहुमूल्य पत्थरमा लगानीको क्षेत्रमा नेपालमा लगानीका लागि आव्हान गर्न सकिन्छ । सरकारले फलाम खानी स्थापनाको प्रक्रिया अघि बढाइसकेको छ । त्यसमा निजी क्षेत्रलाई नै सहभागी गराउने हो । खानीजन्य उद्योग, त्यसमा पनि फलाम खानीमा सम्भावना देखिन्छ । पेट्रोलियमको सर्वेक्षणकै अवस्थामा भएकाले यसको सम्भावना पनि निकट भविष्यमा पत्ता लाग्नेछ । तर खानीका अन्य क्षेत्र र बहुमूल्य पत्थरमा अथाह सम्भावनाहरु छन् ।

सेवा क्षेत्रमा अवसर
सेवा क्षेत्रमा नेपालमा लगानीको सम्भावना धेरै भएका दुई/तीनवटा क्षेत्र छन् । पहिले त वित्तीय क्षेत्र लगानीका लागि सजिलो क्षेत्र थियो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु स्थापना भए । उनीहरुले राम्रो प्रतिफल पनि प्राप्त गरेका छन् । इक्विटी (स्वपुँजी)को शत प्रतिशतसम्म प्रतिफल प्राप्त गर्ने वित्तीय संस्था पनि यहीँका भए । केही समय अघिसम्म पनि ७०/८० प्रतिशतसम्म प्रतिफल लगेको देखिएको थियो । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरको अन्तर (स्प्रेड दर) तोकिदिएपछि त्यो दर अलि कम भयो । त्यसैले वित्तीय प्रणालीका नयाँ क्षेत्रहरुमा लगानीको सम्भावना अझै पनि छ । भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेजिङ सुविधा र पुनर्बीमामा लगानीको अझै पनि सम्भावना छ । ठूला पूर्वाधारमा लगानी गर्ने गरी नेपाल प्रवेश गर्न सक्ने सम्भावना अझै पनि छ । सहरी पूर्वाधारमा लगानीका लागि वित्तीय सेवा दिन सक्ने ठाउँहरु पर्याप्त छन् ।

वित्तीय क्षेत्रभन्दा बाहिर गएपछि नेपालमा अर्को संभावना भनेको पर्यटन हो । अहिले विमानस्थल र वायुसेवाको सीमितताले मात्रै केही समस्या पारेको हो । यो अवस्था सहज हुने हो भने नेपाललाई २०/३० लाख पर्यटक भित्र्याउन ठूलो दुःख गरिरहनु पर्दैन । छिमेकका दुईवटा मुलुकबाट अन्तरआवद्धता (कनेक्टिभिटी) बढाउने र चीन सरकारसँग भएको सहमति कार्यान्वयन गर्ने तथा भारतमा नेपालले पाएको सिट क्षमता उपयोग गर्ने हो भने पर्यटन क्षेत्रको विस्तारमा समस्या छैन । वैकल्पिक विमानस्थल निर्माण हुने बित्तिकै त्यस क्षेत्रमा जाने पर्यटकका लागि होटलमा लगानी गर्न सकिन्छ । पोखरा, लुम्बिनी तथा भैरहवालगायतका क्षेत्रमा लगानीका लागि अवसर छन् । जहाँबाट अन्तर्राष्ट्रिय उडान हुँदैछन्, त्यहाँ ठूला होटलहरु आवश्यक छन् । रामेछापमा सडकमै पर्यटक बस्नुपरेको अवस्थाले पनि त्यस्ता ‘हब’ र ‘कनेक्टिङ पोइन्ट’मा होटल क्षेत्रमा लगानीको अवसर रहेको देखिन्छ । अहिले काठमाडौंमा रहेका होटलहरु खुल्ने बित्तिकै ६०÷७० प्रतिशत अकुपेन्सी छ । होटलको अकुपेन्सी दर भनेको त्यती नै हो । यसले उनीहरुले राम्रो काम गरिरहेको देखिन्छ ।

होटल मात्रै नभइ पर्यटनका अन्य क्षेत्रमा पनि लगानी विस्तारको सम्भावना प्रशस्त छ । साहसिक पर्यटन, उच्चस्थानमा हुने खेलकुदहरु, त्यस्ता ठाउँमा फिल्म सुटिङ गर्नेदेखि अन्य क्षेत्रमा पनि लगानी गर्न सकिन्छ । पर्यटनका बहुपक्षीय क्षेत्रहरुमा लगानीको प्रसस्त सम्भावना देखिएको छ । पर्यटन भनेको होटल मात्र होइन । पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण पक्षहरुमा कयौँ गुणा लगानी बढाउन सक्ने संभावनाहरु रहेका छन् । पर्यटन क्षेत्रमा गरिएको लगानीबाट लाभ लिन जलविद्युतको जस्तो पाँच/सात वर्षसम्म पर्खिनु नै पर्दैन । कुनै क्षेत्रको परियोजनामा निर्माणको अवधि (जेस्टेसन पिरियड) दुई/तीन वर्षको हुन्छ । बढि भएमा पाँच वर्षदेखि त आम्दानी उठ्न थालिहाल्छ । त्यसो भएको हुनाले मध्यकालमै आम्दानी लिनका लागि यो क्षेत्र उपयोगी हुन सक्छ । पर्यटनसँग सम्बन्धि शिक्षा क्षेत्रमा लगानीको अवसर नेपालमा छ ।

पर्यटन उद्योगसँग सम्बन्धी तालिम दिने संस्थाहरु, शिखर आरोहण अध्यापन गर्ने कलेज र पर्यटन शिक्षासँग सम्बन्धी क्षेत्रमा काम गर्न सकिन्छ । यसबाहेक समग्र प्राविधिक शिक्षामा पनि नेपालमा लगानी गर्न सकिन्छ । विश्वस्तरीय प्राविधिक शिक्षा दिन सक्ने गरी नेपालमा व्यवसाय गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा नेपाललाई मेडिकल पर्यटनको हब बनाउन सकिन्छ । लगानीकर्ताले बैंककमा पाउने सुविधा काठमाडौंमा दिन सक्ने हो भने बैंकक जाने पर्यटक नेपाल आउन सक्छन् । मौसम र अन्य केही सांस्कृतिक पक्षहरुका कारण बैंकक जाने पर्यटक नेपाल आउन सक्छन् । स्वास्थयमा केही बाह्य लगानी भइरहेका छन् तर तिनीहरुमा व्यवस्थापनका मुद्दाहरु छन्, अन्य केही विषयहरु पनि छन् । नेपालीले पनि बाह्य लगानीकर्तासँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा विदेशीलाई आकर्षित गर्न सकिन्छ । नेपालको तुलनात्मक लाभको क्षेत्र यो हुन सक्छ । नेपालको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति पनि राम्रो हुँदै गएको र छिमेकी देशको तुलनामा भाषिक समस्या पनि कम पर्ने भएकाले यो क्षेत्रमा काम गर्न सकिन्छ ।

यातायातका क्षेत्रमा पनि नेपालमा लगानीको सम्भावना छ । आन्तरिक जलमार्गका प्रवद्र्धनका बहस अघि बढिरहेका छन् । यातायात क्षेत्रमा कुरा गर्दा मेट्रो रेल, मोनो रेल जस्ता क्षेत्रहरु लगानीका लागि खुला छन् । काठमाडौं केन्द्रित भएर लगानीको चासो राख्ने धेरै देखिन्छन् । यसलाई बिस्तारै अन्य प्रदेश राजधानी र अन्य ठूला सहरसम्म पु¥याउन सकिन्छ । ठोस फोहोरमैला व्यवस्थापनमा पनि नेपालमा लगानी गरेर काम अघि बढाउन सक्ने सम्भावना पर्याप्त छ ।

अहिले नेपालको राष्ट्रिय ध्वजाबाहक एउटा वायुसेवा सञ्चालक छ । नेपाल सरकार नेपाल वायुसेवा निगमलाई कम्पनीका रुपमा सञ्चालन गर्न चाहन्छ । यसलाई संयुक्तरुपमा सञ्चालन गर्न सकिन्छ । दूरसञ्चार क्षेत्रमा पनि व्यवसाय विविधीकरण भएको छ । अहिले हेर्दा बजार खुम्चिन लागेको जस्तो देखिए पनि भविष्यमा ‘डेटा’मा काम गर्न सकिने धेरै ठाउँ छन् । अहिलेसम्म ‘बिग डेटा’को अवधारणमा त प्रवेश नै गरेका छैनौँ । यसको बजार निकै ठूलो छ । यस्ता सेवा दिन सक्ने गरी लगानी गर्न सकिन्छ ।

गर्नुपर्ने काम
लगानीका अवसर पर्याप्त भएको मुलुकमा वास्तविक लगानी भित्र्याउन केही कामहरु निश्चय पनि गर्नुपर्छ । नेपालमा पछिल्लो एक÷डेढ वर्षमा धेरै ऐन बनेका छन् । तिमध्ये कतिका नियमावली बनेका छन्, कतिका बन्ने क्रममा छन् । तिनै कानुनका आधारमा सुविधा दिन थालिएको छ । कतिपय सुधार गर्नुपर्ने छ । विश्व बैंकले हालै प्रकाशित गरेको व्यावसायिक सहजता सूचक (डुइङ विजनेस इन्डेक्स)बाट हामी खुशी भएका छौँ । तर पनि धेरै काम गर्न बाँकी छ । करका झन्झट घटाउनुपर्ने छ । प्रविधिको प्रयोगबाट सेवा दिने विषयलाई अझै व्यवस्थित र सरल बनाउनुपर्ने छ । कम्पनी दर्ता हुनेदेखि बन्द गर्ने विन्दूसम्ममा प्रशासनिक झन्झट कम हुने गरी सलीकृत सेवा दिनुपर्नेछ । निर्यात गर्नेहरुले ४० वटा जति हस्ताक्षर जम्मा गर्नुपर्ने व्यवस्थालाई सहज बनाएर अघि बढ्नुपर्छ । निर्यातकर्तालाई दिइने कर फिर्ता सुविधा सरल बनाउनुपर्छ । नेपाली उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भन्सार बिन्दूमै सुविधा दिइनुपर्छ ।
बैंक ब्याजदर र बैंक ऋणलाई अनुमानयोग्य बनाउने गरी काम गर्नुपर्ने छ ।

ब्याजदरलाई व्यवस्थित बाउने र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहिरहन्छ भन्ने सुनिश्चितता दिनुपर्नेछ । विदेशी विनिमयमा नेपालमा धेरै जोखिम छैन । किनभने नेपाली मुद्राको स्थिर विनिमय दर भारतीय मुद्रासँग तोकिएको छ । यसमा एक किसिमको स्थायित्व छ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) छिटो सक्नुपर्नेछ । नेपालमा लगानी गर्दा अनावश्यकरुपमा जोखिमको ‘प्रिमियम’ राखिएको छ । त्यसलाई घटाउनुपर्छ । हेजिङ सुविधा दिने संस्थाहरु विस्तारै आउनेछन् ।

अन्त्यमा
नेपालमा लगानी आकर्षित गर्न सुधार गर्नुपर्ने भनेको व्यवहार हो । सुशासन कायम गरेर सिहजरुपमा काम गर्न सक्ने वातावरण तयार गर्नुपर्छ । हामीले निजी लगानीकर्तालाई उत्साहित गरेनौँ भने आर्थिक वृद्धिको लक्ष्यमा पुग्न सकिँदैन भन्ने ज्ञान, बोध र जवाफदेहिता हुनुपर्छ । विधिको शासन, कानुनी राज्यको पालना, दण्डहिनताको अन्त्य र व्यवसाय गर्नेलाई अनुमानयोग्य कर, भन्सार तथा वित्तीय नीति तयार गर्नुपर्छ ।

समष्टिगत आर्थिक परिसूचकको हिसाबले नेपाल राम्रो अवस्थामा छ । विदेशी मुद्रा सञ्चिती पर्याप्त छ, मूल्यवृद्धि ठीकै (मोडरेट) अवस्थामा छ र आर्थिक वृद्धि यस क्षेत्रको तुलनामा उच्च छ । त्यो परिस्थितीमा नियामकीय व्यवस्थित गर्दै जाने र निजी लगानीकर्ताको कुरा सुनेर सहयोगी वातावरण तयार गर्ने हो भने नेपालमा विदेशी लगानीले अर्को उचाइ प्राप्त गर्दछ ।

गत चैतमा सम्पन्न भएको लगानी सम्मेलनमा प्राप्त प्रतिवद्धतालाई छिट्टै एउटा टुंगोमा पु¥याउनुपर्नेछ । केही आयोजनाहरु छिट्टै नै निर्णयको विन्दूमा पुग्दैछन् । त्यसबाहेकका अन्य आयोजना पनि निश्चित टुंगोमा पु¥याउनुपर्नेछ । लगानी बोर्डको क्षमता अझै विस्तार गर्नुपर्नेछ । त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयलाई अझै प्रविधिमैत्री बनाउनुपर्छ । वन दिने, जमिन दिने, विद्युत दिने, पानी दिने, नीति निर्माण गरिदिने र कर लिने र दिने बीचमा समन्वय भयो भने लगानीलाई आर्थिक वृद्धिको बाटोमा लैजान सक्छौँ ।
(नेपाल आर्थिक पत्रकार समाज (सेजन)को प्रकाशन अर्थनीतिबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *