लगानी प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरुको सुझाव
काठमाडौं, १९ मंसिर । सरकारले लगानीमत्री वातावरण निर्माण गरेको बताउँदै आएपनि अपेक्षाअनुसार लगानी विस्तार हुन नसकिरहेको सन्दर्भमा लगानी विस्तारका लागि कानुनको एकीकरणको बहस सुरु भएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) समृद्धि फाउण्डेशनद्धारा सयुक्तरुपमा विहीबार ललितपुरमा आयोजित लगानी सुधारका लागि काननुहरुको एकीकरण विषयक अन्तरक्रियामा विज्ञहरुले लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिए ।
कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले लगानी प्रवद्र्धनका लागि कानुनको एकीकरणका साथै सोच र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए । आर्थिक क्षेत्रमा आवश्यकभन्दा बढी कानुनहरु निर्माण भएपनि कार्यान्वयनमा यथास्थितिवादी सो हाबी भएका कारण सुधारको आभास हुन नसकेको बताए । लगानी प्रवद्र्धनका लागि सबैभन्दा पहिले उद्योग दर्ता, खारेजी र कर भुक्तानी सहज बनाइनुपर्ने उनको छ ।
त्यसैगरी अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले भने सरकारले लगानीमैत्री ऐन निर्माण गरेपनि कार्यान्वयमा समस्या देखिएको बताए । कार्यान्वयन गर्ने व्यक्ति तथा निकायको सोचमा परिवर्तन नभएसम्म कानुनको एकीकरणले मात्रै खासै अर्थ नराख्ने उनको भनाइ थियो ।
पूर्व अर्थसचिव रामेश्वर खनालले पनि नेपालका ऐन कानुनहरु तुलनात्मकरुपमा लचिला रहेको जिकिर गर्दै कार्यान्वयनमै समस्या रहेको बताए तथापी एकद्धारा नीति भने आवश्यक रहेको बताए । उनले हालको उद्योग दर्ता र खारेजी प्रक्रिया पूँजीपतिमुखी भएको भन्दै व्यापक सुधार हुनुपर्नेमा जोड दिए ।