बजार यू–टर्नको अपेक्षामा लगानीकर्ता
काठमाडौं, २३ मंसिर । पछिल्ला केही दिन सेयर बजारमा सुधार देखिएको छ। निरन्तर घटेको बजार पछिल्लो केही दिनयता भने हरियो बन्ने बाटोमा छ ।
आज (सोमबार) पनि बजारमा सुधार देखियो । हिजो साढे तीन अंकले बढेको बजार आज भने १४.१३ अंकले बढेर परिसूचक ११४८.८९ मा उक्लियो । गत सोमबार परिसूचक ११११.९९ विन्दुमा थियो ।
कारोबार पनि ४६ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको भएको छ । हिजोको तुलनामा आजको कारोबार रकम १८ करोड रुपैयाँ बढी हो । कम्पनीहरुको सकारात्मक वित्तीय विवरण र लाभांश घोषणाले लगानीकर्ताहरुको मनोबल बढ्दै गएको अनुमान गरिएको छ।
लामो समय देखि बजार लगातार घट्दा लगानीकर्तामा निकै निराशा छाएको थियो । अर्थमन्त्रीको बजारप्रतिको नकारात्मक दृष्टिकोणको प्रभाव बजारमा परेको उनीहरुको भनाई छ । तर पछिल्लो समय अर्थमन्त्री बजारप्रति सकारात्मक देखिएको लगानीकर्ताहरुको बुझाई छ ।
उसो त बजार सधै एउटै रेखामा हिड्दैन । घटबढ बजारको स्वभाविक नियम हो । त्यसकारण बजार निरन्तर घटेपनि अव भने यू–टर्न हुने आशा उनीहरुको छ ।
पुँजी बजारको विकासका लागि नीतिगत र प्रक्रियागत सुधारको काम भइरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ‘बजारको घटबढ माग र आपूर्तिको आधारमा हुने हो । तर ऐन, नियम संशोधन र अन्य सहिजकरणको काम समयसापेक्ष सबै भएका छन् ।’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद्ले भने ।
भएका स्रोत साधनहरु उच्चतम रुपमा प्रयोग गर्ने गरि बजार सुधारको काम भएको उनको दाबी छ ।
तर लगानीकर्ताहरु भने नीतिगत अस्थिरताको प्रभाव बजारमा परेको दाबी गर्छन । बजेट भाषणमा पुँजीगत लाभ करमा छुट दिने भनिएपनि अहिलेसम्म मापदण्ड बन्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । साथै सेयर बजार सुधारका लागि अर्थमन्त्रीद्वारा गठित समितिले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनमा पनि उनले जोड दिए ।