Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सामाजिक सुरक्षा कोषमा बीमा दाबी भुक्तानीका लागि २४ निवेदन

सामाजिक सुरक्षा कोषमा बीमा दाबी भुक्तानीका लागि २४ निवेदन

काठमाडौं, २ पुस । सामाजिक सुरक्षा कोषमा बीमा दाबी भुक्तानीका लागि २४ जना योगदानकर्ताले निवेदन दिएका छन् । कोषमा आवद्ध भएका विभिन्न क्षेत्रका योगदानकर्ताहरुले पुस २ गतेसम्म उक्त निवेदन दिएका हुन् ।

विभिन्न कारणवस मृत्यु भएका रोजगारकर्ताका आश्रित परिवारदेखि सामान्य चोटपटक लागेर उपचार खर्च दाबी गर्ने स्वयंम रोजगारकर्ताहरुले कोषको व्यवस्था अनुसार बीमा दाबी भुक्तानीको लागि निवेदन दिएका छन् । जसमध्ये मृत्यु भएका रोजगारकर्ताका २ आश्रित परिवारले ‘आश्रित परिवार सुरक्षा बीमा दाबी’ प्राप्त गरिहेका छन् भने एक आश्रित परिवार लिने प्रक्रियामा रहेको कोषले जानकारी दिएको छ ।

त्यस्तै अन्य २१ निवेदकहरुको छानविन चलिरहेको छ । निवेदन दिनेमा सामान्य मेडिकल सम्बन्धी ६ जना, प्रसुति सम्बन्धी ५ जना, दुर्घटनामा परी घाईते ३ जनालगायत सिद्धार्थ हस्पिटालिटीमा वाइरिङ्ग गर्ने क्रममा लडेर घाईते भएका एक निवेदन पनि छ । फोनबाट पनि अनौपचारिक रुपमा निवेदन दिने गरेकोले बीमा दावी भुक्तानीका निवेदनको संख्या बढ्ने कोषको आकलन छ ।

कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अन्तर्गत परिच्छेद २ को दफा ६ मा योगदानकर्ताको सुविधा सीमाको व्यवस्था गरेको छ । उक्त दफामा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँ भर्ना भएकै अस्पतालमा सिधै भुक्तानी गर्ने व्यवस्था गरेको छ । त्यसैगरी योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत एक लाख रुपैयाँ दाबी गर्न सकिने व्यवस्था कोषले गरेको छ । अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्था बाहेकका योगदानकर्ताहरुलाई चिकित्सकको प्रेस्किृप्सन अनुसार दफा ५ बमोजिमको सुविधा वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था गरेको छ ।

योगदानकर्ताले रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्ने व्यवस्था कार्यविधिमार्फत् गरिएको छ । रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ । सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषमा योगदान लिन प्रारम्भ गरेको मितिबाट यो योजनामा सहभागी भएको मनिनेछ भने योगदान गर्न छाडेपछि यो सुविधा प्रदान गरिने छैन ।

हालसम्म कोषमा एक लाख ३२ हजार ८ सय ७२ रोजगारकर्ता सहभागी भएका छन् भने ११ हजार ८ सय ४४ रोजगारदाता आवद्ध भएका छन् । रकम भने २८ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x