पोखरा बिमानस्थलको काम आधा सकियो, तेस्रो पटक १०४ रोपनी जग्गा अधिग्रहण गरिदै
काठमाडौ, १३ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य ५२ प्रतिशतसम्म सम्पन्न भै सकेको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०२० को डिसेम्बरमा संञ्चालनमा आउने दाबी गरेका छन् ।
बिमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रको थप बृद्धि हुने भन्दै पर्यटकका लागि पुर्वधारहरु निर्माण हुन आवश्यक रहेको मन्त्री भट्टराईले बताए । विमानस्थलका लागि आवश्यक १०४ रोपनि जग्गा र १२ ओटा घरहरू अधिग्रहण गर्न लागिएको उनले बताए । अहिले ५२० रोपनि जमिनमा बिमानस्थल निर्माण गरिरहेको छ । बिमानस्थलले जमिन अधिग्रहण गरेको यो तेस्रो पटक हो । सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ ।
सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । तर सन् २०१७ को जुलाई ११ बाट निर्माण शुरु भएको हो । पोखरा विमानस्थलको लागत २२ अर्ब रुपैयाँ रहेको छ ।