Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

८५ अर्ब रुपैयाँ लगानी स्वीकृत

८५ अर्ब रुपैयाँ लगानी स्वीकृत

काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ४२औं बैठकले केही जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । बैठके माथिल्लो त्रिशुली–१ जलविद्युत् परियोजनाको ६५ अर्ब रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको ११ अर्ब ७७ करोड र माथिल्लो त्रिशुली ३ बी परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डको कामको परिणाम तत्काल नदेखिने भएपनि यसको काम दीर्घकालसम्म प्रभाव पार्ने गरी संकेत दिने खालको हुनुपर्नेमा जोड दिए । ठूला आयोजनालाई बिना अवरोध निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुको प्रभावकारी समन्वयका लागि जोड दिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । बैठकमा लगानी बोर्डका सीईओ अधिकारीले बोर्डको कार्यालयले विभिन्न परियोजना लागि गरिरहेको सहजीकरण र तिनको कार्यान्वयनको अवस्था बोर्ड बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकले अरुण तेश्रो जलविद्युत् आयोजनाको छ्याङकुटी–दिदीङ प्रवेशमार्गमा रहेको मुआब्जा सम्बन्धि अध्ययन गर्न गठित छानबिन समितिमा प्राविधिकहरु सहितको जनशक्ति थप गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।
यसका अतिरिक्त कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा, चितवन र सुदुरपश्चित प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी, प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु र संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण प्रक्रिया अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । साथै परियोजना कार्यान्वयन प्रक्रियालाई अघि बढाउन विकासकर्ताको छनौट तथा आवश्यक प्राविधिक सहयोग, समन्वय र सहजीकरण लगानी बोर्ड कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकमा अर्थमन्त्री एवं लगानीबोर्डका उपाध्यक्ष डा. युवराज खतिवडा, उद्योमन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, कृषि विकास मन्त्री घनश्याम भुषाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बालकृष्ण शिवाकोटी तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु उपस्थित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x