Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दुबईमा खुल्यो सीजीको पाँचतारे होटल, सबै होटलमा नेपाली झण्डा फहराइने

दुबईमा खुल्यो सीजीको पाँचतारे होटल, सबै होटलमा नेपाली झण्डा फहराइने

काठमाडौं, २१ पुस । सीजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी दुबईमा ‘ताज जुमिरा लेक टावर्स’ होटल सञ्चालनमा ल्याएको छ । पर्यटकीय गन्तव्य दुबइमा नेपालमा मुकाम भएको बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलले आफ्नो फुटप्रिन्ट (पाइला) विस्तार गरेसँगै त्यहाँ नेपालकोे चन्द्र र सूर्यअंकित राष्ट्रिय झन्डा फहराएको ।

फोब्र्समा सूचीकृत नेपालका एक्ला अर्बपति विनोद चौधरीका एनआरएन (गैर आवासीय) छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा पाँचतारे होटल स्थापनामात्रै गरेनन्, त्यहाँ नेपालको राष्ट्रिय झन्डा पनि फहराएका छन् । त्यहाँ फहराएको नेपालको राष्ट्रिय झण्डालाई धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार पनि बनाएका छन् ।

युएई वैदेशिक रोजगारीमा जाने नेपालीहरुको गन्तव्य मात्र होइन । नेपाली उद्यमीहरुले पनि बाह्य मुलुकमा प्रतिष्ठित व्यवसाय सञ्चालन गरेर आफ्नो देशको शिर उच्च बनाएको उदाहरण यो होटलले प्रस्तुत गरेको छ । दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झन्डा फहराउँछ । “अब सीजी हस्पिटालिटीले विश्वका जुनकुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ,” सीजी कर्प ग्लोबलले भनेको छ ।
यसको घोषणा विनोद चौधरी स्वयंले पोखरा पुगेर गरेका थिए । नेपाल साहित्य महोत्सवको आठौं शृंखलामा वक्ता बनेका विनोदले यस्तो उद्घोष गरेका थिए । दुबईबाहेक कजाकस्तानमा स्थापित वाईवाईको प्लान्टमा पनि उनले नेपालको झन्डा फहराइसकेका छन् ।

“नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आडभरोसा दिन्छ । कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु,” उद्योगपति चौधरी भन्छन्, “विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिनेछन् ।” ताज जुमिरा लेक टावर्स’मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि अगाडि बढाएको छ ।

काठमाडौंमा मुकाम रहेको सीजी ‘सीजी कर्प ग्लोबल’ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ । पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ । चौधरी ग्रुपलाई ‘फोब्र्स’ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ । सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत् यात्रा शुरु भएको हो ।

पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन् । सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४,३०० प्रतिशतले बृद्धि गरेको छ । उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । तिनमा ६,५०७ कोठा उपलब्ध छन् ।सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयन गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x