Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

महानगरको ‘सडक मानवमुक्त’ अभियान : ४ सय ५४ जनाको उद्धार

महानगरको ‘सडक मानवमुक्त’ अभियान : ४ सय ५४ जनाको उद्धार

झरना कँडेल
काठमाडौं, २४ पुस । काठमाडौं महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त बनाउँने अभियानलाई तिब्र बनाएको छ । गत मंसिर अन्तिम सातादेखि सुरु गरिएको यो अभियानमा महानगरले मानव सेवा आश्रमको सहयोगमा हालसम्म ४ सय ५४ जना बेवारिसे सडक मानवको उद्धार गरेको मानव सेवा आश्रमका अभियन्ता सुमन बर्ताैलाले बताए ।
उद्धार गरिएकाहरुमध्ये ३ सय ५० जनालाई काउन्सिलिङ गरी सडकमा नमाग्ने र नसुुत्ने सर्तमा परिवारलाई बुझाइएको अभियन्ता बर्तौलाले अर्थको अर्थलाई जानकारी दिए । बाँकी रहेकामध्ये २९ जनालाई स्थायी रुपमा आश्रममा आश्रय दिएको छ भने केही समयका लागि ७३ जनालाई आश्रममा राखिएको उनले बताए । उनले भने–‘२९ जना साहारा नभएकाहरुलाई हामीले आश्रममा स्थायी रुपमा आश्रय दिएका छौं । बाँकी ७३ जनालाई केही समयका लागि हामीले राखेका हौं । उहाँहरुलाई परिवारको पहिचान गरी केही समयभित्र नै जिम्मा लागाउँने छौं ।’

त्यस्तै उद्धार गर्दा अत्यन्तै कमजोर अवस्थामा रहेका एक जना महिला र एक जना पुरुषको उपचारका क्रममा बीर अस्पताल र पिपुल्स हस्पिटलमा मृत्यु भएको अभियन्ता बर्ताैलाले जानकारी दिए । मृतकको कानुनी प्रक्रिया पु¥याएर दाहसंस्कार गरिएकोे उनले बताए । मृत्यु भएका ती दुई जनालाई आफ्नो नाम पनि बताउन नसक्ने अवस्थामा गौशालाबाट उद्धार गरिएकोे बर्तौलाले बताए ।

उद्धार गरिएकाहरुमा सबैभन्दा बढी पुरुष रहेका छन् भने एक जना बालिका रहेकी छिन् । जसमा ३ सय ८७ जना पुरुष, ५८ जना महिला, ९ जना बालबालिका रहेका छन् । काठमाडौका कालिमाटी, सुन्धारा, न्यूरोड, इन्द्रचोक, बसन्तपुर गौशाला, डल्लु, बौद्धलगायतका स्थानबाट बढी मात्रामा सडक मानव उद्धार गरिएको उनले बताए । धेरै जसोे परिवारको सम्पर्कमा नरहेका, परिवारको जिम्मेवारी वहन गर्न नसकेका र बिरामी अवस्थाका रहेकाहरु छन् । उद्धार गरिएका १६ बर्षदेखि ४० वर्ष उमेर समूहका बढी मात्रामा रहेका छन् ।

त्यसैगरी काठमाडौं महानगरलाई अबको एक महिनाभित्र बेवारिसे र सडक मानवमुक्त बनाउँने गरि काम भइरहेको जनाइएको छ । महानगरपालिका सहरी सुव्यावस्था विभागका विभागीय प्रमुख हरि बहादुर कुँवरले अब सडकमा कोही पनि बस्न नपाउने बताए । उनले भने –‘अबको एक महिनाभित्र महानगरमा भएका सम्पूर्ण सडक मानवलाई महानगरले मानव सेवा आश्रमको सहकार्यमा व्यवस्थापन गर्ने छ । सडकमा बसेर माग्ने स्थितिको अन्त्य हुन्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x