झापा–सिलगुडी पाइपलाइन विस्तार गरिने
काठमाडौं, ५ माघ । नेपालको झापादेखि भारतको सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सकरात्मक भएको छ । भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत भएको हो । मलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको छ ।
मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउने समेत निर्णय भएको छ । झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निर्माणमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोटलिङ प्लान्ट निर्माणका लागि आयल निगमले विस्तृत अवधारणापत्र तयार गरी आईओसीलाई उपलब्ध गराउने सहमति भएको मन्त्रालयको भनाइ छ ।
झापा, सर्लाही र भैरहवामा पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति, पेट्रोलियम भण्डारण डिपो स्थापना, अमलेखगंजमा भर्टिकल पेट्रोल भण्डारण टैंक निर्माण, वीरगंज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मिटर जडान, झापा र महेन्द्रनगर (धनुषा) मा बोटलिङ्ग प्लान्ट निर्माण गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।