साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता
काठमाडौं, १० माघ । सरकारले साझा यातायात सहकारीलाई विद्युतीय बस किन्न दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । मन्त्रीपरिषद्ले साझाले बस खरिद नगरेपछि रकम फिर्ता लिने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् ।
साझालाई मन्त्रिपरिषद्कै निर्णयबाट गत असारमा ३ अर्ब रुपैयाँ दिइएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् रकम निकासा गरेको थियो । तर तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफूले तोकेको आपूर्तिकर्तामार्फत् विद्युतीय बस खरिद गर्न दबाब दिएपछि साझाले बसको स्पेशिफिकेशन तयार गर्ने समयावधि लम्ब्याउँदै लगेको थियो ।
सञ्चारमन्त्री बास्कोटाले अब सरकारले उक्त रकम ब्याज सहित फिर्ता लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै स्पेशिफिकेशन तयार गरी खुला बोलपत्रमार्फत् बस खरिद गरिने बताए । साझाले सरकारसँग लिएको रकम विभिन्न तीन बैंकमा मुद्दती निक्षेपमा राखेको छ ।
सरकारले वातावरण मैत्री ग्रीन ट्रान्सपोर्ट प्रवद्र्धनमार्फत् यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटाउँदै जाने रणनीति लिएको छ । सोही अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि सरकारले रकम उपलब्ध गराएको थियो । यो रकम साझामा सरकारको सेयरका रुपमा लगानी गर्ने सरकारले निर्णय गरेको थियो । साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितले भने सरकारले साझालाई विद्युतीय बस किन्न दिएको रकम फिर्ता लैजानुपर्ने कारण दिनुपर्ने बताएका छन् ।