Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

प्रधानमन्त्रीले सदनमा भने– एमसीसी अनुमोदन गर्नुपर्छ

प्रधानमन्त्रीले सदनमा भने– एमसीसी अनुमोदन गर्नुपर्छ

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट नेपालले प्राप्त गर्न लागेको ५० करोड अमेरिकी अनुदान सहायता परिचालनका लागि एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

संसद्मा मंगलबार सम्बोधनको क्रममा प्रधानमन्त्रीले एमसीसी सम्झौता (एमसीसी कम्प्याक्ट) सदनबाट अनुमोदन गरेर परियोजना कार्यान्वयन अघि बढाउनुपर्ने बताएका हुने । ‘हामीले धेरै अघि देखि अघि बढ्दै आएको ६–७ ओटा प्रधानमन्त्रीको कार्यकाल गुजारीसकेको र संसद्मा अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसीसी सम्झौता अनुमोदन गर्नुपर्नेछ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने । उनले एमसीसीका सम्बन्धमा संसद्मा सविस्तारमा सम्बोधन गर्ने पनि बताएका छन् ।
सभामुख निर्वाचित भएलगत्तै नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सोमबार एमसीसी अनुमोदन गर्न हतारो नभएको बताएका थिए । सभामुखले एमसीसीमा बहस छेडिएकाले उक्त बहस निचोडमा पुग्न दिने भन्दै यसमा हतार नगर्ने बताएका थिए ।

अमेरिकी सहयोग स्वीकार गर्ने विषयमा प्रधानमन्त्रीले अध्यक्षता गर्ने दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तीव्र मतभेद छ । यद्यपि नेकपाको स्थायी समिति बैठकले एमसीसी बारेको निर्णय गर्ने अधिकार नेकपा सचिवालयलाई दिएको छ । एमसीसीको अनुदान लिदाँ नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल हुने भन्दै नेकपा नेताहरुले नै भ्रमपूर्ण अफबाह फैलाइरहेका छन् । अमेरिकी दूतावासले भने एमसीसीमा सैन्य गतिविधिलाई अमेरिकी कानुनले नै वर्जित गरेको स्पष्टोक्ति दिइसकेको छ । अमेरिकी दूतावासले यो सहयोग लिएबापत् नेपाल कुनै पक्ष विपक्षमा लाग्नु नपर्ने कतै हस्ताक्षर गर्नु नपर्ने स्पष्ट पारिसकेको छ ।

यसपछि एमसीसीको विरोधमा ‘भारतको स्वीकृति लिनुपर्ने घातक प्रावधान’ ले चर्चा पाएको छ । भारतसँग अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने परियोजना भएको हुँदा भारतको स्वीकृतिबिना उक्त परियोजना निर्माण गर्नुको अर्थ नहुने बताइएको छ । फेरी ढल्केबर–मुजफ्फरपुरमा अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्न विश्व बैंकको सहायता लिदाँ पनि भारतसँग स्वीकृति लिइएको थियो । एमसीसीमा कुनै तर्कपूर्ण र यथार्थ विरोध भन्दा पनि विरोधका लागि विरोध गरेर नेकपाका नेताहरुले राजनीतिको रोटी सेकाइरहेको प्रधानमन्त्रीको बुझाइ छ । प्रचण्ड पक्षधर नेताहरुले यो विषयलाई पार्टीको महाधिवेशन सम्म नै उचालेर महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहेका छन् ।

एमसीसीका परियोजना पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने भएकाले राष्ट्रिय कानुनमा कुनै परिवर्तन या यहाँको कानुनसँग बाझिएको अवस्थामा त्यसको समाधानमा अल्झेर परियोजनाको काममा ढिलाइ नहोस् भनेर कानुनी मान्यता दिनुपर्ने प्रावधान राखिएको हो । कानुन निर्माण गर्ने एकमात्र थलो संसद् भएकाले संसद्ले अनुमोदन नगरी यसले कानुनी मान्यता पाउँदैन । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को स्वीकृतिमा गत असारमा एमसीसीसँगको सम्झौता संसद्मा दर्ता गराएका थिए । जसलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद्को कार्यसूचीमा प्रवेश नगराउँदा वर्षे अधिवेशनबाट अनुमोदन भएन । यसलाई हिउँदे अधिवेशनबाट अनुमोदन गर्ने सरकारको तयारी छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x