विकासका लागि वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री डा. खतिवडा
काठमाडौं, १५ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमजिङ मार्केटस्का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत जोर्ग फ्राइडेन नेतृत्वको टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताए ।
भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका सकारात्मक प्रयास भएको जानकारी दिए । खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, च्यालेन्ज फण्डको शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताए ।
पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने मन्त्री खतिवडाको भनाई छ ।