चीनमा कोरोना प्रकोपले नेपाली अर्थतन्त्र प्रभावित
काठमाडौं, २० माघ । गत साता संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा यसले नेपाल भ्रमण वर्ष, २०२०मा समेत केही धक्का लाग्ने उल्लेख गरे । उनले संकेत गरेको धक्का चिनियाँ पर्यटकको आगमनमा सम्भावित गिरावट थियो । तर असर त्यतिमा मात्र सीमित भएन ।
कोरोना भाइरसको प्रकोपका कारण चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको त छ । यसका अतिरिक्त, चिनमा नयाँ वर्ष मनाउन गएका चिनियाँ ठेकेदार तथा लगानीकर्ताहरु समेत नेपाल फर्कन ढिलाइ हुँदा चिनियाँ ठेक्काका जलविद्युत्, बन्दरगाह, सडक निर्माणका काम प्रभावित भएका छन् । जनवरी २५ लाई चीयिाँ नयाँ वर्षका रुपमा मनाइन्छ । त्यही समयमा कोरोना भाइरसको प्रकोप बढेपछि चिनियाँहरु घरबाहिर हिंडडुल गरेका छैनन् । हिमालय एयरलाइन्सले चीनतर्फका सबै उडान यसै साताबाट बन्द गर्ने घोषणा गरिसकेको छ ।
चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा नेपालतर्फको रसुवागढी नाका चीनले बन्द गरेको छ । चीनले फ्रेबुअरी १२ सम्मका लागि नाका बन्द गरेको छ । तातोपानी नाका पूर्ण रुपले सञ्चालन भैनसकेको अवस्थामा रसुवागढी–केरुङ एकमात्र सडकमार्गबाट हुने व्यापार पनि प्रभावित भएको छ ।
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरेको छ । चीनका अतिरिक्त कोरोना भाइरस अमेरिका, भारत, बेलायत, जापान लगायतका मुलुकमा पनि फैलिसकेको छ । अमेरिका, जापान लगायत देशले चिनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । भारतले पनि आफ्ना नागरिकको उद्दार गरिसकेको छ ।
नेपालले चीनमा रहेका १८० विद्यार्थी तथा अन्य नागरिकलाई उद्दार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । उनीहरुमध्ये संक्रमितलाई राख्ने क्वारेन्टाइन लगायतको प्रबन्धमा ढिलाइ हुँदा नेपालीहरुलाई फिर्ता ल्याउन ढिलाइ भैरहेको छ ।