न्यौपाने गृहसचिव, अख्तियारमा अधिकारी
काठमाडौं, २१ माघ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो । निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा आएका हुन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए । अवकाशप्राप्त गृहसचिव राईलाई अख्तियारको प्रमुख आयुक्त बनाउने चर्चा छ । अख्तियारका वर्तमान प्रमुख आयुक्त नवीन घिमिरेले भदौबाट अवकाश पाउँदैछन् । भदौमा प्रमुख आयुक्त बनाउने तयारी रहेकोले राईलाई तत्कालै अख्तियारको आयुक्तमा नियुक्त गर्ने तयारी छ । अख्तियारको आयुक्त तथा प्रमुख आयुक्तको नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारिश चाहिन्छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, विपक्षी दलका नेता लगायत रहन्छन् । आयुक्त तथा प्रमुख आयुक्तको नियुक्ति संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिबाट हुन्छ ।
न्यौपानेलाई गृह मन्त्रालयमा ल्याएपछि सरकारले प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव नियुक्त गरेको छ । आज (मंगलबार)देखि अर्थ मन्त्रालयका सचिव राजन खनालले पनि अवकाश पाउँदैछन् । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयमा अर्थ र राजस्व सचिवको पनि नियुक्तिका सम्बन्धमा पनि निर्णय गरिसकेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा चीनबाट उद्धार गर्ने तयारी भैरहेका १८० नेपाली नागरिकलाई कहाँ राख्ने भन्ने विषयमा छलफलमा बैठक लम्बिएको थियो । उद्दार गरेर ल्याएपछि उनीहरुमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउन दुई साता अनुगमनमा राख्नुपर्ने भएकाले ठूलो संख्यामा उद्दार गरी ल्याइएकालाई कहाँ राख्ने भनेर ठाउँ खोजी भएको हो ।
इचंगुनारायणमा सुकुम्बासीहरुलाई राख्न बनाइएको आवास, शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र लगायतलाई सम्भावित ठाउँका रुपमा हेरिएको छ । क्वारेन्टाइन तथा उपचार गर्ने ठाउँको टुंगो नलाग्दा नेपालीहरुलाई उद्दार गरी नेपाल ल्याउन ढिलाइ भैरहेको छ ।