Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अव्यवस्थित भृकुटीमण्डप, करोडौं आम्दानी कर्मचारी पाल्नमै ठिक्क

अव्यवस्थित भृकुटीमण्डप, करोडौं आम्दानी कर्मचारी पाल्नमै ठिक्क

झरना कँडेल
काठमाडौं, २७ माघ । राजधानीको मुटु भृकुटीमण्डप विभिन्न सभा, समारोह, प्रर्दशनी, मेला लगायतका लागि सबैको रोजाईमा पर्ने गरेको छ । प्रशस्त खाली स्थान, प्रर्दशनी हल समेत भएकाले यहाँ प्रायः कुनै न कुनै कार्यक्रम भइनै रहेको हुन्छ । ति कार्यक्रमहरु संचालन गरेवापत समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप संचालन कार्यालयले मासिक करिब ५० लाख रुपैंया शूल्क आर्जन गर्ने गरेको छ ।

२ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा त्यसबाहेक बाल उद्यान, बजार तथा रेस्टुरेन्ट र विभिन्न संघ, संस्था तथा निजी कार्यालयहरु छन् । मासिक लाखौ रुपैयाँ आम्दानी भएपनि यहाँको भौतिक संरचनासँगै अन्य व्यवस्थापनको अवस्था भने निकै दयनिय छ । मुलगेट देखि भित्री भागसम्मै यत्रतत्र फोहर थुप्रिएको छ । ढल निकाशको राम्रो व्यवस्था छैन भने प्रदर्शनी हलमा पानी चुहिन थालेको छ । उचित मर्मत सम्भारको अभावमा भवनको स्वरुप पनि पुरानो भइसकेको छ ।

भृकुटीमण्डप संचालन कार्यालयका प्रमुख सञ्जय कुमार मल्लिक भने कर्मचारीको अभावमा भृकुटीमण्डपलाई सफा र स्वच्छ राख्न सम्भव नभएको बनावटी जवाफ दिन्छन् । उल्टै कार्यालयको जिम्मेवारी भुलेर आम नागरिकले आफ्नो जिम्मेवारी बोध गरेमात्र भृकुटीमण्डप स्वच्छ सफा बन्ने तर्क उनले गरे ।

कार्यालयका अनुसार सफाइका लागि २ जना मात्र कर्मचारी छन् ।

६० रोपनी क्षेत्रमा फनपार्क छ । त्यस्तै प्रदर्शनी हल ३५ हजार स्क्वायर फिट, बगैंचा २३ रोपनी र खसी बजारले २१ आना क्षेत्रफल ओगटेको छ । ३० रोपनीको खुला बजारमा १ हजार ३ सय ५ कपडा, जुत्ता, चिया र खाजाका पसल छन् । नेपाल पर्यटन बोर्डलाई ९ रोपनी जग्गा ९९ वर्षका लागि लिजमा दिइएको छ ।

बिभिन्न संघसंस्थाका कार्यालय रहेको टहराहरुलाई पर स्क्वायर फिट महिनामा ३६ रुपैयाँका दरले लिजमा दिइएको छ । १ हजार ३ सय ३९ वटा पसल रहेको हङकङ बजारलाई भने पर स्क्वायर फिट १३ रुपैयाँ ३१ पैसाका दरले र फनपार्कलाई मासिक ६ लाख १० हजार ५ सय रुपैँयामा जग्गा लिजमा दिइएको छ । चटपटे, पानीपुरी, चाटलगायतका ठेला संचालाकहरुले पनि मासिक ३ हजार रुपैँयाका दरले भाडा तिर्छन् । बगैँचा प्रवेश शूल्क ६० रुपैँया तथा बगैँचा १ दिनको लागि ६० हजार रुपैँया र फिल्मी सुटिङहरुलाई १ दिनमा १५ हजार रुपैँया शूल्क लिइन्छ ।त्यस्तै गरी भृकुटीमण्डपमा रहेको ठुलो हललाई प्रतिदिन १ लाख ५० हजार, ठुलो चौर ६० हजार प्रति दिन , मुल गेटसंगैको चौरलाई २० हजार प्रतिदिन , पछाडिको सानो चौरलाई १० हजार रुपैयाँ प्रति दिनका दरले भाडामा लगाउने गरिएको छ।

सभा, सम्मेलन, रेष्टुरेन्ट, बजार र बगैचा प्रवेश शूल्क समेत हेर्दा वार्षिक करिब १० करोड रुपैयाँ आम्दानी हुने गरेको कार्यालय प्रमुख मल्लिकले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा लिजबाट मात्र ९ करोड ७४ लाख रुपैँया र आर्थिक वर्ष ०७५÷७६ मा १० करोड १ लाख ५० हजार आम्दानी भएको थियो ।

आम्दानी भएको रकममध्ये ८ करोड परिषद्को कर्मचारीको तलबमै खर्च हुने मल्लिकले जानकारी दिए । बाँकी रहेको रकमले व्यवस्थापन गर्न नपुग्ने उनको भनाई छ । सरकारले भृकुटीमण्डपलाई कर्मचारी पाल्ने आम्दानीको स्रोतकोरुपमा हेरेको भन्दै उनले लिजबाट उठ्ने रकमको १० प्रतिशत रकम मात्र पनि भृकुटीमण्डपमा खर्च गर्न सके थप व्यवस्थित हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x