व्यावसायिक क्षेत्रका समस्या हल गर्न सरकार सधै तयार छ : प्रधानमन्त्री ओली
काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक क्षेत्रमा भएका समस्याहरुको मस्यौदा बनाएर व्यवसायी आए त्यसको समाधान गर्न सरकार सधै तयार हुने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी अवार्ड २०२०) कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ऐन, नियम र कानुनमा भएका असहजतालाई व्यवसायीहरु नियालेर आए सरकारले सदैव उनीहरुको हितमा काम गर्ने बताए । तर, निजी क्षेत्रका व्यवसायीहरुले ऐन र कानुनको पालना गरेर काम गर्नु पर्ने उनको भनाई छ ।
ऐन नियमअनुसार काम गर्ने निजी क्षेत्रलाई सरकारले सधै साथ र सहयोग गर्ने भएकाले ढुक्क भएर व्यवसाय गर्ने पनि उनले अनुरोध गरे । प्रधानमन्त्री ओलीले भने–‘सरकारको लक्ष्य समृद्ध नेपाल, खुसी नेपाली बनाउँने हो । सरकारको यो लक्ष्यलाई साकार बनाउँन तपाईहरुको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । केही समस्या भए आउँनुहोस् त्यसलाई समाधान गरेर अगाडि बढौं ।’
त्यस्तै ओलीले यो सरकार कमिसनको खेलमा कुनै पनि हालतमा नलाग्ने भन्दै व्यवसायमा त्यस्तो कमिसनको खेलको कुनै कुरा चलेमा प्रत्यक्ष आफूलाई भेटेर भन्न आग्रह गरे । उनले भने–‘स्वच्छन्दताको दिशामा देशलाई अगाडि बढाउँने सरकारको लक्ष्य हो । यो सरकार कुनै पनि कमिसनको कमिसनको खेलमा लाग्दैन् र गर्न पनि दिँदैन् । यदी व्यवसायिक क्षेत्रमा यस्ता कमिसनका कुरा आएमा मलाई प्रत्यक्ष भन्नुहोस् ।’ अबको सरकारको लक्ष्य स्वच्छता र पारदर्शितालाई विकासको खम्वाका रुपमा स्थापित गर्ने उनको भनाई छ । यो जसरी पनि सम्भव बनाउँने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा उद्योग राज्यमन्त्री मोतिलाल दुगडले सरकारले व्यवसायीलाई जुवाईंको व्यवहार गर्ने बताए । व्यवसायीहरुलाई परेका समस्या समाधनमा मन्त्रालय सधै तयार रहेको उनले प्रतिवद्धता जनाए । उनले भने–‘व्यवसायीले आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका हुन्छन् । तपाईंहरुलाई सरकारले जुँवाईको जास्तो व्यवहार गर्छ । ढुक्क भएर व्यवसाय गर्नुहोस् ।’
त्यसैगरी कार्यक्रममा १३ वटा विधामा २५ जना उद्योगीहरु सीआईपी अवार्ड २०२० बाट सम्मानित भएका छन् । उनीहरुले सम्मान पत्रसहित सुन जडित लोगोका सथै विशिष्ट व्यक्तित्वहरु प्रधानमन्त्री, मन्त्री, सचिवहरुसँग प्रत्यक्ष भेटेर आफ्ना उद्योगका समस्या राख्न पाउँने अवसर पनि प्राप्त गरेका छन् ।
सम्मानित व्यवसायीहरुको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो आवार्ड प्राप्तिले व्यवसायीहरुलाई थप व्यावसायिक ऊर्जा मिलेको बताईन् ।
यो अवार्ड बढी सामान निर्यात गरी नेपालमा बढी रकम भित्र्याउँनेहरुलाई दिईएको हो । यो अवार्ड प्रत्येक २ वर्षमा वितरण गरिने प्रावधान भएको भएपनि विगत ४ वर्षदेखि वितरण हुन सकेको थिएन् । आगामी वर्षहरुमा विधानमा भएको प्रावधानअनुसार नै अवार्ड वितरण गर्ने मन्त्रालयले जानकारी दिएको छ ।