बजेटको अर्धवार्षिक समीक्षा : २७ प्रतिशत खर्च
काठमाडौं, २९ माघ । चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल बजेटको २७ प्रतिशत मात्र खर्च भएको छ । बजेटको अर्धवार्षिक समीक्षा अवधिसम्ममा ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख रुपैयाँ खर्च भएको हो । जसमध्ये चालुतर्फ ३ खर्ब ९ अर्ब ६० करोड रुपैयाँ, पुँजीगततर्फ ६२ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये ९० प्रतिशत मात्र बजेट यो वर्ष खर्च हुने अपेक्षा गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै माघ महिनाको अन्त्यसम्ममा सोझै भुक्तानी हुने खर्चसहित कुल बजेटको ३२.५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । समीक्षा अवधिमा केही क्षेत्रहरुमा अघिल्लो वर्षको तुलनामा कम खर्च भएको छ । यो हुनुमा पुनर्निर्माण, प्रदेश तथा स्थानीय तहमा रकम हस्तान्तरण, अघिल्लो वर्षको बजेटबाट खर्च जस्ता कारण अर्थमन्त्रालयले देखाएको छ । पुनर्निर्माण अन्तिम चरणमा पुगेकोले अनुदान वितरणको रकम गत वर्षको भन्दा १४ अर्ब १४ करोडले कमी हुन पुगेको हो ।