Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भैरहवा सेजले सवस्टेसन नबनाउँदा सेजका उद्योगमा विद्युत् आपूर्ति अनिश्चित

भैरहवा सेजले सवस्टेसन नबनाउँदा सेजका उद्योगमा विद्युत् आपूर्ति अनिश्चित

काठमाडौं, माघ ७ । भैरहवा विशेष आर्थिक क्षेत्रमा (सेज) ले त्यहाँ स्थापना हुन लागेका उद्योगहरुमा बिजुली आपूर्तिका लागि वितरण सबस्टेशन नबनाउँदा सेजका उद्योगहरुमा बिद्युत् आपूर्तिमा अनिश्चितता थपिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) नजिक दगदहीसम्म चैत्रभित्रमा विद्युत पुर्याउने भएको छ । दगदहीमा सवस्टेशन निर्माण गरी स्थानीयलाई विद्युत् वितरण गर्ने योजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा बुटवल योगीकुटीमा रहेको विद्युत् प्राधिकरणको सबस्टेशनदेखि दगदही सवस्टेशनसम्म एकल सर्किट ३३ केभी प्रसारणलाइन निर्माण गर्ने तयारी रहेकोमा उक्त प्रसारणलाइनलाई डबल सर्किट गरी ३३ केभी सेजकै लागि बिजुली दिने तयारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङका अनुसार, प्राधिकरणले बुटवलदेखि दगदहीसम्म प्रसारणलाइन निर्माणको काम आगामी चैत्रभित्र सम्पन्न गर्नेछ । दगदही सबस्टेशनबाट १५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सेजभित्र सबस्टेशन निर्माण गर्ने काम भने भैरहवा सेजकै हो तर त्यसका लागि कुनै काम अघि बढेको छैन । सेजले आफ्नो तर्फबाट कुनै काम नगरी विद्युत् प्राधिकरणलाई मात्र दोषी देखाएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
सेजमा स्थापना हुने स्थापना हुने उद्योगका लागि विद्युत दिनका लागि सेजले बनाउनु पर्ने ३३÷११ केभीको सव स्टेसन (१० एमभीए) निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।
यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सव स्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् भने पाउने छैनन् । प्राधिकरणको कार्यक्षेत्र सेजसम्म विद्युत पुर्याउका लागि प्रसारण लाइन निर्माण गर्ने मात्रै हो । त्यसपछि सव स्टेसन बनाएर उद्योगलाई विद्युत वितरण गर्ने काम भैरहवा सेजको कार्यक्षेत्र भित्र पर्छ । सव स्टेसन निर्माणका लागि अहिलेसम्म बोलपत्र आह्वान समेत भएको छैन ।
प्राधिकरणले अहिले निर्माण गरिरहेको सव स्टेसनको अनुभव हेर्दा टेण्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि उपकरण झिकाएर ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात सामान्य अवस्थामा टेण्डरका सम्पूर्ण प्रक्रिया सकेर सव स्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन’,उनले भने,‘ चैत्रभित्रमा हाम्रो स्कोपभित्रको प्रसारण लाइन बनाएर त्यहाँ विद्युत् पुर्याउँछौं सेज व्यवस्थापनले सव स्टेसन बनाउन काम चै नगर्ने अनि विद्युत जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्ने ?’
हाल त्यहाँ रहेको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाउन लागेको हो ।
प्राधिकरणले तिलोत्तमा नगरपालिकाको योगीकुटी सवस्टेसनदेखि सेजसम्म छुट्टै ३३केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानु पर्ने भएकाले वनको कारणले काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायत सरोकारबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन’उनले भने ‘तर, सेजकातर्फबाट गर्नु पर्ने काम नै अगाडि बढेको देखिंदैन,उद्योगको काम गर्न कन्स्ट्रक्सन पावर दिएकै छौं,तर पनि काम भएको छैन, अब त्यसो भए प्रसारण लाइन नै छैन भनेर प्रधिकरणसँग पीपीए गरेका कुनै पनि जलविद्युत कम्पनीले आयोजना नै नबनाउने त ?’
सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीलेसमेत विद्युत नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत भने ११ केभी लाईनमार्फत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x