हनुमानढोका–स्वयम्भु जोड्ने ‘सम्पदा पदमार्ग’ निर्माण ३ महिना भित्र सुरु हुने

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिको गुरुयोजनामा बन्न लागेको ‘सम्पदा पदमार्ग’को काम सुरु हुन अझै केहि समय लाग्ने भएको छ । गत बैशाख ५ गते विश्व सम्पदा दिवसको अवसरमा हुनुमानढोकादेखि स्वयम्भुसम्म ‘सम्पदा पदमार्ग’ निर्माणको घोषणा गरिएको थियो ।

पर्यटकहरुलाई पैदलयात्रा गर्न सहज होस् भनि बनाउँन लागिएको यो गुरुयोजनाको निर्माण कार्य अबको ३ महिनाभित्र सुरु हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए ।

महानगरले स्वयम्भु र बसन्तपुरको सम्पदालाई जोड्नका लागि निर्माण गर्न लागेको २÷२ किलोमिटर दुरीको उक्त सम्पदा मार्ग निर्माणका लागि बाटोको एकिन तथा गुरुयोजना तयार भैसकेको भएपनि काम सुरु गर्न केही समय लाग्ने उनले बताए । महानगरले एकिन गरेको पदमार्गमा पुरातात्विक सम्पदा, सत्तल, पौवा, कुवा, धाराहरु रहेको र त्यसलाई सुधार गर्नका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट छुट्याइएको उनको भनाई छ । तर, उक्त पदमार्ग निर्माणका लागि करिब ३० करोड रुपैयाँ खर्च लाग्ने अनमान गरिएको छ ।

उक्त क्षेत्रभित्र पर्ने सडकको निर्माणसँगै सत्तल, मौलिक घर, बाटो मर्मत लगायतका काम पनि छिटै सुरु गरिने डंगोलले बताए । जसका लागि सवारीसाधन प्रयोग नहुने स्थानको रुट तय भएको छ । डंगोलका अनुसार उक्त आयोजनाको यो वर्ष सत्तलहरु निर्माण गर्ने र निजी घरहरुलाई पुरातात्विक शैलीमा ढाल्ने काम हुनेछ । काठमाडौं महानगरपालिका वडा नं. १५, १७, र १८ भित्र पर्ने उक्त सम्पदा पदमार्गमा एउटै किसिमको ढुङ्गा र इटा विछ्याइने छ ।

मौलिक संस्कृति झल्कने गरी निर्माण गरिने सो सम्पदा पदमार्ग निर्माण गरी स्थानीय संस्कृतिलाई पर्यटनसँग प्रत्यक्ष जोड्ने महानगरको योजना छ । विश्वमा अहिलेसम्म एक सम्पदाबाट अर्को सम्पदा जोड्ने पैदलमार्ग नभएकोले यो सम्पदा पैदलमार्गले नेपाललाई विश्वसामु चिनाउन थप मद्दत पुग्ने उनको तर्क छ । उक्त सम्पदालाई पुरातात्विक बनाउने भएकाले केहि ढिला हुने हुने डंगोलले जानकारी दिए ।

पदमार्गको बिचमा सार्वजनिक शौचालय, बिश्राम स्थल निर्माण गर्नुपर्ने र त्यस अन्र्तगत रहेका घरहरुलाई पनि पुरानो शैलीमा ढाल्नुका साथै केही जीर्ण अवस्थामा रहेका घरहरुलाई व्यवस्थापन गर्नुपर्ने छ । उक्त आयोजनाको निर्माण सोचेभन्दा ढिलो समयमा हुने भएपनि अवको ३ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने महानगरको योजना छ ।

सम्पदा रुट हनुमानढोका हुँदै काष्ठमण्डप – मरु गणेश – मरु हिटी – सन्तानेश्वर महादेव – मरुबही – मिच्याः गल्ली – बन्जाः हिटी – सुन्ता गल्ली – पाछै गल्ली – नरदेवी द्यःछेँ – आयुर्वेदक अस्पताल – बुरांखेल – म्येछ्यों हिटी – रञ्जित मल्ल सतः घाट – भेलु महादेव – डल्लु चौतारा – भीमसेन मन्दिर – धिमे ल्वहं – चारा हिटी – भुइखेल हुँदै स्वयम्भूसम्म निर्धारण गरिएको छ । उक्त रुटको मध्ये भागमा एकै किसिमको ढुङ्गा तथा छेउछेउमा दाची इटा राख्ने तथा छेउछाउका घरहरुमा पनि दाची इटा राखेर पुरातात्विक शैलीमा सजाउने महानगरको योजना छ ।

पछिल्लो समय काठमाडौंमा मानिस हिड्डुल गर्नका लागि पदमार्ग नै नभएको अवस्थामा यो मार्गले काठमाडौंबासीलाई समेत सहजता प्रदान गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *