बाहिरी चक्रपथ निर्माण अन्यौलमा, गफमै बित्यो घोषणाको ३ वर्ष

बलराम बुढाथोकी
काठमाडौं, २६ फागुन । काठमाडौंको बाहिरी चक्रपथ परियोजना निर्माणमा अन्यौलता बढेको छ । काठमाडौं उपत्यकालाई व्यस्थित गर्न निर्माण गर्न लागिएको परियोजनाको काम हालसम्म पनि सुरु हुन नसकेको छैन ।

काठमाडौं, ललितपुर र भक्तपुरलाई जोड्ने गरी १५ वर्ष अघि नै ७२ किलो मिटर लम्बाई भएको बाहिरी चक्रपथ निर्माण गर्ने निर्णय भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा पहिलो चरणमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण सुरु गर्ने भनिएको भएपनि हालसम्म पनि त्यहाँको काम हुन सकेको छैन् ।

बाहिरी चक्रपथको ५० मिटरमा ८ लेनको सडक दायाँ बायाँ २५०–२५० मिटरसम्मको चौडा क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) प्रविधिद्वारा व्यवस्थित सहरीकरण गर्ने योजनालाई पुरा रुप २०७४ बैशाख १४ गते सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी.को पालामा नै दिइएको थियो । यो आयोजनाको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भनिएपनि नेपाल सरकारको बजेटले नहुने काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए ।

८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपांगमैत्री पेटी समेत हुने यो चक्रपथको लागत २ अर्ब रुपैयाँ अनुमान गरिएको छ । तर, यो आयोजना निर्माणका लागि हालसम्म जग्गा प्राप्तिको काम नहुँदा निर्मााण्मा थप अन्यौलता थपेको पूर्वाधार विज्ञ किशोर थापा बताउँछन् । उनी भन्छन्–‘काठमाडौंको बस्तिलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारण अति आवश्यक हो । तर, यतिका वर्ष वितिसक्दा पनि सरकारले जग्गा प्राप्ति गर्न नसक्दा यो आयोजना बन्नेमा आशंका उब्जिएको छ ।’

बाहिरी चक्रपथ निर्माण गर्ने हो भने चाँडै नै सरकारले जग्गा प्राप्ति प्रक्रियालाई मुआव्जामार्फत् अगाडि बढाउँन पर्ने उनको सुधाव छ । यो प्रक्रियाबाट अगाडि बढ्न नसके बाहिरी चक्रपथ विचल्लि पर्ने थापाको भनाइ छ । ‘सरकारले कागजमा मात्र योजनाका चाँङ लगाएको छ । कामलाई तिब्रता दिएको देखिँदैन् । जबसम्म सरकारले विकास गर्नु पर्छ भन्ने मनसाय बनाउँदैन् । यस्ता योजना दराजमा थन्कन्छन् । गफ गरेर र सम्झौता गरेका कुरा बाहिर ल्याएर मात्र विकास भएको मानिँदैन् ।’

त्यस्तै नेपाल लगानी बोर्डले चक्रपथको निर्माणको जिम्मा गत असोज ६ गते ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ लाई दिन निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४० औं बैठकले परियोजनालाई अघि बढाउँन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनोट गर्ने निर्णय गरेको जानकारी दिएको थियो । कम्पनीले पहिलो चरणमा बुझाएको प्रतिवदेन पनि वोर्डलाई चित्त नबुझेपछि त्यसको स्वरुप परिवर्तन गर्ने कुरा चलेको एक कर्मचारीले बताए ।

मन्त्रीका कारण आयोजना अगाडि बढ्न सकेन
सहरी विकास मन्त्रालय स्रोतका अनुसार यो परियोजना अगाडि बढ्न नसक्नुको मुख्य कारण मन्त्रीले काम गर्ने इच्छा शक्ति नदेखाउँनु हो । केही समय अगाडि मात्र राजीनामा दिएका शहरी विकास पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले यो आयोजनालाई खासै ध्यान नदिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनले भने–‘उच्च स्तरीय टोली बनाएर गरीएका अध्ययनलाई पनि मन्त्री ज्यूले पूर्ण रुप दिन सक्नुभएन् । यो परियोजना मन्त्री परिषद्बाट नै परित गर्नुपर्ने हुन्छ । उहाँको निष्क्रियताले त्यस क्षेत्रमा पर्ने जग्गा रोक्का गर्न सकिएको छैन् ।’ जग्गा रोक्का मात्र गरिदिए पनि तत्कालै यो परियोजना निर्माण नभए आगामी दिनमा निर्माण कार्य सहज रुपमा हुने उनको भनाई छ । ‘तत्कालै यो परियोजना निर्माण नभएपनि हामीले त्यस क्षेत्रको जग्गा मात्रै रोक्का गरिदिन सकेका भए भविष्यमा यो बाहिरी चत्रपथ निर्माण गर्न सहज हुन्थ्यो ।’ ती अधिकारीले भने । त्यस्तै अहिले आएका मन्त्रीले भने कामलाई अगाडि बढाउँने छाँटकाँट देखाएको उनी बताउँछन् ।

समिति गठन काम शून्य
सरकारले बाहिरी चक्रपथ निर्माण समिति पनि गठन गरेको छ । यो समितिमा सहरी विकास मन्त्री अध्यक्ष छन् भने सदस्यमा मान्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र सचिव रहेका छन् । तर, यो समितिले काम भने अगाडि बढाउँन नसकेको प्राधिकरणका आयुक्त तिवारी बताउँछन् ।

बाहिरी चक्रपथको मोडालिटी
बाहिरी चक्रपथले काठमाडौं, भक्तपुर र ललितपुरलाई जोड्ने छ । यो आयोजना सम्पन्न भए काठमाडौं उपत्यकाको खचाखच जनसंख्यामा पनि व्यवस्थापन हुने बताइएको छ ।

काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोंगबु, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ ।
सीतापाइलाबाट हलचोक, गह्रिगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ किलो मिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ कि.मि.सडक निर्माण गर्ने योजना रहेको अवस्थामा वाहिरी चक्रपथको कुल लम्वाई ८६ किलोमिटर भन्दा बढी हुन जाने मन्त्रालयको अनुमान छ ।

भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाईने छ ।

ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्य्विनायक, बागमतीपुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर चक्रपथ बनाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *