कोरोनाको त्रास : पर्यटकीय सहर सुनसान

काठमाडौं, २९ फागुन । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको त्रासले नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

यो भाइरसको प्रकोपबाट ८५ भन्दा बढी मुलुक प्रभावित भइसकेका छन् । विश्वका बाँकी मुलुकलाई पनि त्रसित बनाएको छ । जसले गर्दा विश्वभर पर्यटकीय गतिविधि प्रायः शून्य जस्तै छ । भाइरसको त्रासले पर्यटकहरुले पूर्व निर्धारित भ्रमण समेत रद्ध गरेका छन् ।

त्रासकै कारण नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाइरहेको नेपाल भ्रमण वर्ष २०२० पनि स्थगन गरेको छ । विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न पनि कडाइ गरेको छ । जसले गर्दा नेपाल आउने तयारीमा रहेका पर्यटकले भ्रमण स्थगित गरेका छन् । पर्यटकीय सिजनमै भाइरसको त्रास बढ्दा नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का सचिव दामोदर ढकालले बताए ।

मार्च, अप्रिल, मे महिना पदयात्राको सिजन हो। यो समयमा युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्।

व्यवसायीहरुका अनुसार नेपाल आउने तयारीमा रहेका ८० प्रतिशत पर्यटकले भ्रमण रद्ध गरेका छन् । सरकारले भिडभाडमा नजान र कुनै सार्वजनिक सभा, समारोह आयोजना नगर्न भनेपछि आन्तरिक पर्यटकको चहल पहल पनि निकै घटेको सौराहका होटल व्यवसायी श्याम तिवारीले बताए ।

पर्यटक नआउदा होटल, रेस्टुरेन्ट, हस्तकलाका लगायतका व्यवसाय सङ्कटमा पर्न थालेको उनले बताए । यो समस्या थप लम्बिने हो भने व्यवसायबाट हात झिक्नुपर्ने अवस्था आउने भन्दै उनले सरकारले व्यवसायको संरक्षणका लागि छुट एवं सहुलियत सहित राहत प्याकेज ल्याउन आग्रह गरे ।

त्यस्तै अर्को पर्यटकीय सहर पोखरामा पनि पर्यटकको चहलपहल निकै घटेको छ ।भ्रमणको तयारीमा रहेका पर्यटकले रद्ध गर्नुका साथै नेपालमा रहेका पर्यटकले समेत भ्रमण छोट्याएर फर्किन थालेको टान पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेलले बताए । त्यसले गर्दा पोखराका अधिकांश होटल खाली छन् भने अन्य पर्यटकीय गतिविधि पनि निकै कम छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *