अर्थमन्त्री भन्छन्, ‘आर्थिक संकटकालको कुरा गर्नु अपरिपक्वता’
काठमाडौं, ३ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका व्यवसायीहरुले आर्थिक संकटकालको कुरा अघि सार्नु अपरिपक्वता र आलोकाँचो कुरा भएको बताएका छन् । संकटकाल, आपत्काल जस्ता शब्दजालमा नलाग्न उनले व्यवसायीहरुलाई आग्रह गरे । संकटकाल घोषणा गर्नुपर्ने कुनै अवस्था नआएको र केही क्षेत्रबाहेक अन्य क्षेत्रमा सामान्य अवस्थाकै जस्तो आर्थिक गतिविधि भैरहेको अर्थमन्त्रीको भनाई छ ।
अत्यावश्यक वस्तुको आपूर्ति र व्यापार अझै बढिरहेको छ । अहिले मुख्यगरी प्रभावित भएका होटल र एयरलाइन्स हुन् । त्यसलाई देखाएर व्यवसायीहरुले असामान्य अवस्थातर्फ धकेल्न प्रयास गरिरहेको अर्थमन्त्रीको बुझाइ छ । अर्थमन्त्रीले कोरोनाले प्रभावित भएका क्षेत्र र तिनको क्षति यकिन गरी राहत दिने पक्षमा सरकार रहेको बताए । व्यवसायीहरुले अतिवादी कुरा गरेर परिस्थितिलाई धुमिल बनाउन खोजेका कारण अर्थमन्त्रीले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाइराख्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य संघले आर्थिक संकटकाल घोषणा गर्नुपर्ने, चैत मसान्तमा कर र बैंकको साँवाब्याज तिर्न नसकिने जस्ता प्रतिक्रिया जनाएकोमा अर्थमन्त्रीले आपत्ति जनाएका छन् । उनले तीव्र प्रतिवाद गर्नुभन्दा जिम्मेवार भएर क्षति यकिन गर्न सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । संकटको बेलामा निजी क्षेत्र र सरकारले एक अर्कालाई साथ दिएर परिपूरक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा भए अनुसार एक पटकलाई ऋणको पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था यथाशक्य गर्न आफूले पहल गर्ने बताएका छन् ।