Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना प्रभाव : पोखराको पर्यटन व्यवसाय ९० प्रतिशत घट्यो

कोरोना प्रभाव : पोखराको पर्यटन व्यवसाय ९० प्रतिशत घट्यो

काठमाडौं, ३ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको सन्त्रासले पोखराको पर्यटन व्यवसाय पनि प्रभावित भएको छ । पर्यटकीय सिजन शुरु हुँदै गर्दा यहाँको समग्र पर्यटन व्यवसाय ९० प्रतिशत घटेको पर्यटन व्यवसायी तथा पदयात्रा व्यावसायीहरुको छाता संगठन टान, पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताएका छन् ।
कोरोनाको प्रभावकै कारण यस वर्षको पर्यटन सिजनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उक्त कमी आएको उनको भनाइ छ । उनका अनुसार ट्रेकिङ (पदयात्रा)मा मात्रै पनि ७० प्रतिशत पर्यटक घटेको र होटल क्षेत्रमा बुकिङहरु धमाधम रद्द हुने क्रम बढेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेपछि पोखराको पर्यटन व्यवसाय नै संकटमा परेको अध्यक्ष भुजेलले बताए । ‘कोरोनाको प्रभावले व्यवसाय दिन दुगुना रात चौगुना खस्किएको छ,’ उनले भने, ‘यसले पोखराको पर्यटन क्षेत्रमा गरिएको अर्बौंको लगानी जोखिममा परेको छ । भोलि यसमा सरकारले हेरेन भने लगानीकर्ता डुब्ने डर छ ।’ यससँगै पर्यटन व्यावसायमा लागेका करिब ५० हजार श्रमिकको रोजगार समेत गुम्न सक्ने उनले औंल्याए । सरकारले यो वर्षको ब्याज भए पनि अर्को वर्ष तिर्न मिल्ने गराइदिए पनि केही राहत हुने उनको भनाइ छ ।
यसैबीच, पर्यटन क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै एक्सेल ट्रीपले ‘राम्रो पोखरा, घुमौं पोखरा’ डिजिटल अभियानको शुभारम्भ गरेको छ । पर्यटन मन्दीको कठिन समयमा विभिन्न डिजिटल प्लाटफर्ममार्फत आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउन अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

राम्रो पोखरा, घुमौं पोखरा प्याकेज आइतबारदेखि २०७७ बैशाख ३ गतेसम्म १ महिनाको अवधिभर सञ्चालन हुने बताइएको छ । अफर अवधिभर तीन रात बुक गर्दा एक रात निःशुल्क र दुई रात बुक गर्दा एक रात निःशुल्क जस्ता विशेष प्याकेजहरु उपलब्ध रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले बताए । केही होटलहरूले एक महिनाको अवधिभर ५० प्रतिशतसम्मको छुट समेत उपलब्ध गराएको उनले जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार ई–सेवामार्फत होटल बुक गर्ने ग्राहकहरूले ५०० रुपैयाँको विशेष छुट पाउनेछन् । त्यस्तैगरी उक्त समय अवधिभर यती एयरलाइन्सले प्रत्येक साता लक्की ड्र मार्फत विजेता दुई यात्रीलाई काठमाडौं–पोखरा–काठमाडौं उडानमा दुईवटा एकतर्फी टिकट उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x