कोरोना संक्रमितको संख्या २ लाख नजिक
काठमाडौं, ५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । वल्र्डोमिटरर्सडटकमका अनुसार आज (बुधवार) बिहान ७ बजेसम्ममा यसबाट संक्रमित हुनेह १ लाख ९८ हजार ७०७ पुगेका छन् ।
उक्त बेवसाइटका अनुसार सोही अवधिसम्ममा कोरोनाको संक्रमणका कारण मृत्य हुनेको संख्या ७ हजार ९९० रहेको छ । हालसम्मको अवस्थामा कोभिड १९ बाट संक्रमित भए पनि निको भइसकेका मानिसको संख्या ८२ हजार ७७९ रहेको छ । यस आधारमा हेर्दा कुल संक्रमितको आधाभन्दा बढी मानिस रिकभर भइसकेको देखिन्छ ।
कोरोना भाइरसले संक्रमित भएकाहरुमा पनि १ लाख १ हजार ५८६ जन मध्यम अर्थात् सामान्य जोखिमको अवस्थामा छन् भने ६ हजार ४१५ जनाको अवस्था चिन्ताजनक र गम्भीर देखिएको छ । यसको अर्थ यीमध्ये धेरैको मृत्यु हुन सक्ने सम्भावना उच्च हुन्छ ।
देशगत हिसाबमा हेर्ने हो भने कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने ५ मुलुकहरुमा क्रमशः चीन, इटाली, इरान, स्पेन र जर्मनी रहेका छन् । चीनमा अहिलेसम्म ८० हजार ८८४ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यस्तै इटालीमा ३१ हजार ५०६, इरानमा १६ हजार १६९, स्पेनमा ११ हजार ८२६ र जर्मनीमा ९ हजार ३६७ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा यसअघि १ जनामा यो भाइरसको संक्रमण देखिएकोमा अहिले रिकभर भइसकेको सम्बन्धित स्वास्थ्य निकायले बताएको छ । कोरोना संक्रमणको आशंकाले विभिन्न समयमा गरी धेरै जनाको स्वास्थ्य परीक्षण गरिए पनि नेकेटिभ रिपार्ट आएकाले हाललाई यो भाइरसको संक्रमित नेपालमा छैनन् । निर्माणाधीन पोखरा विमानस्थलका एक जना कर्मचारीमा यसको संक्रमण देखिएको समाचार आएको त्यो निराधार रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले बताएको छ ।