Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोनाविरुद्ध सरकारको पूर्वतयारी कति प्रभावकारी ?

कोरोनाविरुद्ध सरकारको पूर्वतयारी कति प्रभावकारी ?

काठमाडौं, ६ चैत । एसईई परीक्षाको सम्पूर्ण तयारी भइसकेको बेला बुधवार साँझ सरकारले परीक्षा स्थगनको निर्णय ग¥यो । यससँगै सबै विश्वविद्यालयका निर्धारित परीक्षा समेत स्थगित भए ।
कोरोनाको सम्भाव्य प्रकोप रोक्ने प्रयासस्वरूप सरकारले गरेको यो निर्णयको मिश्रित प्रतिक्रिया आएका छन् । एकाथरीले कोरोनाको संक्रमण देखिनहालेको अवस्थामा परीक्षा तत्कालै गराउनुपथ्र्यो भन्ने तर्क गरेका छन् भने अधिकांशले पूर्व सावधानीस्वरूप गरिएको यो निर्णयलाई स्वागतयोग्य भनेका छन् ।

तर्क जे जस्ता होलान्, सरकारले यो निर्णय लिनुमा भने बुधवार बिहान मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालसहित दक्षिण एशिया कोरोनाको तीव्र जोखिममा रहेको रिपोर्ट बाहिर आउनु मुख्य कारण भएको सरोकारवालाहरूले औंल्याएका छन् ।

हुन पनि नेपालको दक्षिण छिमेकी मुलुक भारत कोरोनोको ‘इपी सेन्टर’ बन्न सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । कोरोनाको पूर्वसावधानीका लागि भइरहेका काम, भारत सरकारको स्वास्थ्य संयन्त्र, जनघनत्व, सरसफाइ तथा स्वास्थ्य सचेतनाको स्थिति, कोरोना संक्रमणको दर लगायत विभिन्न मानकलाई आधार बनाएर गरिएको यो प्रक्षेपणले भारत सहित उसका छिमेकी मुलुकहरू र त्यसमा पनि नेपाललाई समेत झस्काएको छ ।

भारतले आइतवार रातिदेखि नेपालका लागि वनबासा, सुनौली, रक्सौल र रानी भन्सार नाकाबाहेक अन्य नाका बन्द गरेको छ । यद्यपि खुला सिमानाका कारण यो कदम कति प्रभावकारी होला भन्ने प्रश्न आम रूपमा उठेको छ । विभिन्न समयमा चोर बाटो हुँदै मालवस्तुको चोरी पैठारी हुँदै आएको तथ्यले पनि मुख्य नाका बन्द गरेर मात्र नपुग्ने स्पष्ट हुन्छ । सीमाक्षेत्रको निगरानी र नेपाल भित्रने मानिसको स्वास्थ्यजाँचका लागि खटिएका नेपालको विद्यमान जनशक्ति पनि त्यसका लागि पर्याप्त छैनन् ।

सरकारले केही नाकामा हेल्थ डेस्क राखेर मानिसको ज्वरो लगायतको जाँच गरे पनि यो सबै नाका र केन्द्रहरूमा यसको पहुँच छैन । नेपाल सरकारले बेलैमा बु्झ्नपर्ने अर्को उदाहरण हो इटालीको । हालै प्रकाशित एक रिपोर्टले के औंल्याएको छ भने चीनपछि कोरोनाको सबैभन्दा ठूलो प्रकोप इटालीमा देखिनुमा त्यहाँ बेलैमा आवश्यक सतर्कता अपनाउन नसक्नु मुख्य कारण हो । चीनमा संक्रमण देखिएपछि इटालीको सरकारले बाहिरबाट आउने पर्यटकमाथि निगरानी बढाए पनि कोरोना संक्रमण भएका मानिसमा लक्षण नदेखिन सक्छ भन्ने तथ्यलाई बेवास्ता ग¥यो । रिपोर्टले त्यहाँ जनवरी २९ मा पहिलोपटक यो भाइरसको संक्रमण भएको देखाए पनि वैज्ञानिकले भने जनवरी मध्यतिरै प्रवेश गरिसकेको अनुमान गरेका छन् । यस्तै अर्को कारण भने जनताले सरकारको कदममा साथ नदिनु हो । नयाँ संक्रमितको संख्या बढेसँगै सरकारले एक चौथाइ मुलुकलाई क्वारेन्टाइनमा राख्ने निर्णय ग¥यो । यो निर्णय गर्ने तयारी भइरहेको सूचना पाएपछि रेड जोनमा रहेका धेरै मानिस भाइरस नफैलिएको आ–आफ्ना घर फर्किए । त्यसपछि ह्वात्तै इटालीमा बिरामीको संख्या बढ्यो ।

नेपालको परिस्थिति हेर्दा इटालीकै जस्तो नियति यहाँ पनि दोहोरिन सक्छ । किन कि राजधानी काठमाडौं लगायतका ठुला शहरी क्षेत्रमा यसको संक्रमण देखिन थाले आ–आफ्ना घर फर्किने सर्वसाधारणको अभिव्यक्तिले यो शंका बढाएको हो ।

पहिले नै तयार भइसक्नुपर्ने आइसोलेसन वार्डहरू बल्ल बन्ने क्रममा छन्, त्यो पनि निकै थोरै क्षमतामा । आइसोलेसन बेड पर्याप्त नहुँदा संकट थप घातक बन्न सक्छ ।
डब्ल्यूएचओले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेसँगै १५ सय पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) अर्थात् व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था गर्न सुझाए पनि बल्ल टेन्डर आह्वान गरिएको छ । ललितपुर महानगरपालिकासहित केही निजी संस्थाले ह्यान्ड स्यानिटाइजर र मास्कको उत्पादन थालेको बताइए उपभोक्ताले अझै पनि सहज रुपमा पाउन सकेका छैनन् । यस्तै कतिपय अत्यावश्यक औषधि पाउन समेत मुश्किल परेको उनीहरूको गुनासो छ ।

सरकारले कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न यूरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोकेको रोके पनि अन्य मुलुकको सन्दर्भमा केही निर्णय गरेको छैन । यसको अर्थ यसबाहेकका मुलुकबाट आउनेहरूबाट यसको संक्रमण देखिन सक्ने सम्भावना कायमै छ । त्यसैले विदेशबाट आउने र विदेश जाने नेपालीलाई समेत यथोचित रुपमा रोक्नुपर्छ ।

यस्तै जनतालाई सही सूचना दिन एकद्वार प्रणाली हुनुपर्नेमा त्यसो हुन सकेको छैन । तत्कालको अवस्थामा कालोबजारी हुन नदिने र ६ महिनासम्म कुनै पनि खाद्यान्न तथा औषधिको अभाव नहुने सरकारले बताउँदै आए पनि यसको प्रभावकारी कार्यान्वयन हुनेमा जनता विश्वस्त छैनन् ।

यो परिस्थितिमा सरकारले अन्तरराष्ट्रिय अभ्यास र विज्ञहरूको राय सल्लाहसहित कोरोनाविरुद्धको अभियानमा कटिबद्ध भएर अघि बढ्नु आवश्यक छ । कोरोना रोक्ने सबैभन्दा ठूलो उपाय नै पूर्वतयारी र सावधानी भएकाले सरकार, निजीक्षेत्र र सर्वसाधारणले सबै बेलैमा गम्भीर हुनुपर्ने आवश्यकता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x