साताको अन्तिम दिन शेयर बजार १३ अंकले बढेर बन्द
काठमाडौं, ६ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार १३.५० अंकले बढेर १२६९.३० विन्दुमा उक्लिएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा बीचमा केही उतार चढाव आए पनि अन्तमा बढेर बन्द भएको हो ।
कारोबारमा आएका १२ समूह मध्ये ६ वटा समूहको उपसूचक बढेपनि ६ वटाको भने घटेको छ ।
कोरोना भाइरसको त्रासका कारण लगानीकर्ताहरुमा खासै उत्साह देखिएको छैन । सरकारले २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएपछि ब्रोकर कार्यालयहरुमा पनि लगानीकर्ताहरुको उपस्थिति निकै न्यून छ ।
आजै मात्र शेयर लगानीकर्ताहरुको विभिन्न ५ संगठनले संयुक्त विज्ञप्ति जारी गरि कारोबार बन्द गर्न माग गरेका छन् । तर पनि आज भने १ सय ७३ कम्पनीको १अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यसमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै अर्थात ३१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।