अर्थतन्त्र पुनर्स्थापना सहजै गर्छौंः अर्थमन्त्री
काठमाडौं, ७ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा ठूलो धक्का नलागेको बताएका छन् । उनले सबैभन्दा प्रत्यक्ष मार व्यहोरिरहेको पर्यटन क्षेत्र (होटल,रेष्टुरा, आतिथ्य सत्कार, हवाई) सेवाको योगदान अर्थतन्त्रमा ३ प्रतिशत मात्र रहेकाले यसको असर गहिरो नहुने उल्लेख गरे । ‘यद्यपि रोजगारीका दृष्टिले पर्यटन क्षेत्र निकै महत्वपूर्ण छ,’ उनले भने, ‘हामी यसलाई पुनर्स्थापना गर्न राहत दिने तयारीमा जुटेका छौं ।’ कोरोना भाइरसको प्रभावसँगै नेपालका तारे होटलहरु समेत बन्द हुने अवस्थामा पुगेका छन् । हायात र होटल र्याडिसनले केही समयका लागि सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् ।
बाह्यमात्र नभएर आन्तरिक हवाई सेवा व्यवसाय समेत ठूलो असर परेको छ । अर्थमन्त्री खतिवडाले पर्यटन उद्योगलाई कर्जा पुनर्तालिकीकरण गर्ने, कर्जा र कर तिर्ने समय केही लम्ब्याउने र सहुलियत कर्जा सुविधा दिने बताएका छन् । त्यस्तै, विश्वव्यापी आपूर्ति व्यवस्थामा उत्पन्न अवरोधका कारण प्रभावित भएका उद्योग व्यवसायमा क्षतिको परिमाण हेरेर सहुलियत कर्जा, कर र ऋण तिर्ने अवधि केही समय पछि सार्न सकिने उनले बताए ।
त्यस्तै वैदेशिक रोजगारीमा जान नपाएका र विदेशबाट फर्केकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता छ । उनले कोरोना भाइरसको असरले अहिलेसम्मको अवस्थामा नेपाली अर्थतन्त्रमा धक्का नलागेको बताएका छन् । सरकारले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अध्ययन समेत गरिरहेको छ ।