भारत २१ दिन लकडाउनमा, प्रधानमन्त्री मोदीद्वारा डेढ खर्बको उपचार योजना सार्वजनिक
काठमाडौं, ११ चैत । दक्षिणी छिमेकी भारतमा २१ दिन लकडाउन गरिएको छ । भर्खरै राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साताको लकडाउन घोषणा गरेका हुन् । उनले कोरोनासँग लड्नका लागि १५ हजार करोड भारतीय रुपैयाँ (डेढ खर्ब भारु) को कोरोना उपचार योजना सार्वजनिक गरेका छन् । उनले कोरोनालाई ‘कोही रोडपर ना निकले’ भनेर सम्झाएका थिए ।
उनले भारतीय नागरिकलाई घरमै रहेर आफ्नो र आफ्नो सुरक्षाका लागि खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, दैनिक आवश्यकताका आपूर्तिकर्ता, सुरक्षाकर्मीको अनवरत कामलाई सम्मान गर्न आग्रह गरे ।
प्रधानमन्त्री मोदीले निजी क्षेत्रले कोरोना भाइरसको महामारीसँग लड्न देखाएको तत्परताको मुक्त कण्ठले प्रशंशा गरे । भारतको इतिहासमा २१ दिन देश बन्द रहेको पहिलो पटक भएको बताइएको छ । भारतीय सञ्चारकर्मी राजदीप सरदेसाईले प्रधानमन्त्री मोदीको यो निर्णय ऐतिहासिक भएको बताए ।
भारतमा अहिले कोरोना संक्रमणको वृद्धिदर तीव्र रुपमा फैलिरहेको छ । जसका कारण यसअघि नै केही राज्यहरु ल्कडाउनमा छन् । प्रधानमन्त्री मोदीले राज्य सरकारहरुलाई पहिलो प्राथमिकतामा जनस्वास्थ्यलाई राख्न आग्रह गरेका छन् । उनले केन्द्रीय सरकारले कोरोना भाइरसको महामारीसँग लड्न चिकित्सा उपकरण, औषधी तथा औषधीको खोज अनुसन्धानलाई महत्व दिएको बताए । उनले आम नागरिकलाई अफवाहको पछि लागेर चिकित्सकको सल्लाह बिना कुनै पनि औषधी सेवन नगर्न आग्रह गरेका छन् ।
राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘यो कोरोना भाइरस १ लाख मानिसमा फैलन ६७ दिन लागेको थियो । दुई लाख पुग्न केवल ११ दिन लाग्यो अब यो तीन लाख पुग्न ४ दिन पनि लाग्दैन ।’ एक संक्रमित व्यक्तिले आफू संक्रमित भएको थाहै नपाई धेरैलाई फैलाउने भएकाले उचित सचेतना र सावधानी अपनाएर मात्र कोरोना भाइरसविरुद्धको युद्ध जित्न सकिने बताए । उनले प्रधानमन्त्री देखि सामान्य नागरिक सबैले एउटै नियम पालना गरिने उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमण साइकल तोड्नका लागि २१ दिन महत्वपूर्ण हुने र २१ दिन नसम्हालिने हो भने देश २१ वर्ष पछाडि जाने र परिवारमा ठूलो समस्या आउने बताए । उनले आफू प्रधानमन्त्रीमात्र नभएर भारतीय सबै परिवारको एक सदस्यको रुपमा बताएको मर्मस्पर्शी सम्बोधन गरेका थिए ।