Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

कोरोनाविरुद्धको कोष बढ्दै, औषधी; पीपीई हस्तान्तरण; विद्यालय क्वारेन्टिन

कोरोनाविरुद्धको कोष बढ्दै, औषधी; पीपीई हस्तान्तरण; विद्यालय क्वारेन्टिन

काठमाडौं, १२ चैत । सरकारले कोरोनाविरुद्ध स्थापना गरेको कोषमा सहयोग बढ्न थालेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलले कोषमा १० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने एनसेलले उल्लेख गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।
त्यस्तै, नेपाल उद्योग परिसंघले कोरोना भाइरसको संक्रमणसँग जुझ्नका लागि आफ्नो सक्रियता बढाउँदै स्वास्थ्य मन्त्रालयका महानिर्देशक नारायण ढकाल र डा. विकास देवकोटााई उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इकयुपमेन्ट– पीपीई) हस्तान्तरण गरेका छन् । परिसंघले थप आयात गरी निकट भविष्यमा अत्यावश्यक सामग्रीहरु समेत हस्तान्तरण गर्ने बताएको छ ।
देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्लोरोक्वीन सल्फेट ट्याब्लेट र ब्राण्ड हीक्वीन २०० ट्याब्लेट नामक औषधी उपचारका लागि आवश्यक परेमा निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको छ । देउराली जनता फर्मास्युटिकल्सका संस्थापक एवं कार्यकारी निर्देशक हरिभक्त शर्माले बिरामीहरुले औषधी नपाएर बञ्चित हुनु नपरोस् भन्ने विशुद्ध सेवा भावका साथ सरकारबाट माग भएको खण्डमा १५,००० बिरामीको उपचार गर्न पुग्ने गरी चार लाख ट्याब्लेट निःशुल्क उपलब्ध गराउने उल्लेख गरेका छन् । यसको बजार मूल्य ४८ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
त्यस्तै निजी तथा आवासीय विद्यालय नेपाल (प्याब्सन)ले ७५ निजी विद्यालयहरुलाई सरकारले क्वारेन्टिनको रुपमा प्रयोग गर्न सक्ने बताएको छ ।
कोरोना बिरुद्धको कोषमा सरकारी, निजी र गैर सरकारी क्षेत्रबाट सहयोग थपिने क्रम जारी छ । यसैबीचमा, नेपाल धितोपत्र बोर्डको तर्फबाट पचास लाख रुपैयाँ योगदान गर्ने निर्णय भएको अध्यक्ष भीष्मराज ढुंगानाले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x