तेश्रो संक्रमित भेटिए, व्यापक परिक्षण गर्न माग
काठमाडौं, १२ चैत । नेपालमा कोरोना संक्रमणका तेश्रो बिरामी फेला परेका छन् । उनी खाडी मुलुकबाट नेपाल फर्केका प्रवासी कामदार भएको बताइएको छ । सोमबार फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षे युवतीमा समेत कोरोना संक्रमण फेला परेको थियो ।
पत्ता लागेका तीन जना संक्रमितमध्ये चीन बाट फर्केका पहिलो संक्रमित निको भएर फर्कीसकेका छन् भने दोस्रो र तेश्रो अस्पतालको आइसोलेसनमा छन् ।
विश्व स्वास्थ्य संगठनले लक डाउनले संक्रमणको तीव्र रफ्तारको चेन भत्काउन मद्दत गरे पनि आवागमन अवरुद्ध गरेर मात्र समस्या समाधान नहुने बताएको छ । उसले लकडाउनसँगै व्यापक परिक्षण गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै, पूर्व स्वास्थ्यमन्त्री गगन थापाले व्यापक परिक्षण शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । आवश्यक परे परिक्षण किट, चिकित्सकलाई व्यक्तिगत सुरक्षा उपकरणका अतिरिक्त आवश्यक स्वास्थ्य सामग्री जहाज चार्टर्ड गरेर ल्याउन उनले आग्रह गरेका छन् । लकडाउन सँगै व्यापक स्वास्थ्य परिक्षण गरेर रोग निदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।