स्वास्थ्य सामग्री लिन आज निगमको चार्टर्ड जहाज चीन जाँदै

काठमाडौं, १५ चैत । कोरोना भाइरसको परिक्षणका लागि किट तथा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायतका सामग्री नेपाल ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन पठाइने भएको छ । नेपालमा अहिलेसम्म चार जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएपनि व्यापक परिक्षण गर्दा धेरै संक्रमित फेला पर्न सक्ने अनुमान गरिएको छ । त्यसकारण नेपालले व्यापक परिक्षणका लागि किट र अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन लागिएको हो । नेपालमा खासगरी बाह्य मुलुकबाट आउनेहरुबाट कोरोना भाइरस संक्रमण फैलने जोखिम देखिएकाले आवश्यक स्वास्थ्य सामग्री ल्याएर सातै प्रदेशमा परिक्षण बढाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । चौथो केस काठमाडौं बाहिर भेटिएकाले देशभर छिटो परिक्षणको आवश्यकता परेको हो ।
स्वास्थ्य सामग्री लिएर उक्त जहाज आइतबार नेपाल फर्कनेछ । चीनबाट आउने स्वास्थ्य सामग्री सातै प्रदेशमा वितरण गरिने डा. देवकोटाले बताए । पोखरा, नेपालगञ्ज, धरान, दाङ, धनगढी लगायतका ठाउँमा सामग्री वितरण गरिनेछ । भारतबाट पनि लाखौं नेपालीहरु स्थल नाका हुँदै हालै फर्केका छन् । उनीहरुलाई सरकारले १४ दिन सम्म अलग्गिएर र सकेसम्म क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।