पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य घट्यो, माग छैन

काठमाडौं, २० चैत । विश्व बजारमा मूल्यमा तीव्र गिरावट आएपछि नेपालले आयात गर्ने पेट्रोलियम पदार्थ सस्तो भएको छ । इण्डियन आयल कर्पोरेशनले अप्रिल १ मा पठाएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थ सस्तो भएपछि नेपाल आयल निमगले मूल्य घटाएको छ ।
कोरोना भाइरसको प्रभावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको छ । कच्चा तेलको मूल्य २० अमेरिकी डलरमा आउने प्रक्षेपण गरिएको छ । कोरोनाका कारण विश्वको एक चौथाई जनसंख्या लक डाउनमा छ । यातायात, उद्यम, निर्माण, हवाई उडानमा कमी आएपछि पेट्रोलियमको माग ह्वात्तै घटेको हो ।
अप्रिल १ को मूल्य सूची अनुसार निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ र हवाई इन्धनमा १५ रुपैयाँ मूल्य घटाएको छ ।
बिहीबारदेखि लागू हुने नयाँ मूल्य अनुसार पेट्रोल ९६ रुपैयाँ प्रतिलिटरर डिजेल तथा मटितेल प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य ७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभरी नै पेट्रोलियम पदार्थको मागमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेण्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल (१५९ लिटर) २२.७४ अमेरिकी डलर रहेको छ ।