नेपाल पुनर्बीमाको साधारण सेयर बाँडफाँट प्रक्रिया शुरू, आगामी शुक्रवारसम्ममा सर्वसाधारणले पाउने
काठमाडौं, २४ चैत । नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बाँडफाँट प्रक्रिया शुरू भएको छ । नेपाल धितोपत्र बोर्डको समन्वयमा सोमवारदेखि आईपीओ बाँडफाँट प्रक्रिया काम शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार साधारण सेयरबाँडफाँट आगामी शुक्रवारसम्ममा सम्पन्न हुनेछ ।
कम्पनीले चैत १४ गते आईपीओ बाँडफाँट गर्न तयारी गरेको भए पनि सरकारले गरेको लकडाउनका कारण रोकिएको थियो । कम्पनीले लकडाउन हटेपछि आईपीओ बाँडफाँट गर्ने भनेको भए पनि लकडाउन थपिने भएपछि साधारण सेयर बाडफाँटको आवश्यक काम शुरू गरिएको हो ।
सर्वसाधारणको पैसा धेरै रोक्का हुने भएपछि साधारण सेयर बाँडफाँटको काम शुरू गरिएको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंले जानकारी दिए । उनका अनुसार यो साताभित्र आईपीओ बाँडफाँट हुनेछ ।
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट हुन नसक्दा सर्वसाधारणको मागभन्दा बढीको रकम रोक्का भएको थियो ।
कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको छ । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको छ भने यसबाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।
सर्वसाधारणले यस आईपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्, जुन मागभन्दा ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।