Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२०७६ मा शेयरबजार : ११८८ विन्दुबाट शुरू भएको परिसूचक १२५१ मा विश्राम

२०७६ मा शेयरबजार : ११८८ विन्दुबाट शुरू भएको परिसूचक १२५१ मा विश्राम

बलराम बुढाथोकी
काठमाडौं, १ वैशाख । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण मुलुक अहिले लकडाउनमा छ । मुलुक लकडाउनमा भएसँगै शेयर बजार पनि चैत १० गतेदेखि बन्द छ ।
२०७६ सालमा शेयर कारोबार चैत ९ गतेसम्म मात्र भएको छ । गतवर्षको शेयर कारोबार भएको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर १२५१.४५ विन्दुमा रोकिएको थियो । २०७६ सालमा बाँकी रहेका १७ दिन लकडाउनका कारण शेयर कारोबार हुन नसकेपछि यो वर्षको शेयर कारोबारको अन्तिम विन्दु १२५१.४५ हुन पुगेको छ । वर्षको अन्तिम कारोबार दिन १९ करोड ४६ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
२०७६ सालको शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ११८८.७१ विन्दुमा थियो । यो दिन ३० करोड ४५ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै २०७६ सालमा शेयर बजारमा गिरावट बढी आएकाले बढी चर्चा–परिचर्चा चलेको थियो । २०७६ सालमा बजार ११०० को विन्दुसम्म झरेको थियो भने यो वर्ष नेप्से परिसूचक १६०० विन्दुभन्दा माथि पुगेको थियो ।
यो वर्षको न्यून विन्दु
२०७६ सालमा नेप्से परिसूचकको न्यून विन्दु ११०९.१६ मा सीमित भयो । यो विन्दु मंसिर १० गतेको शेयर कारोबार दिनमा भएको हो । त्यस्तै यो वर्ष ११ र १२ सयको विन्दुमा नेप्से परिसूचक बढी समय रोकिएको थियो ।
यो वर्षको उच्च विन्दु
यो वर्ष नेप्से परिसूचकको उच्च विन्दु १६३२.१७ कायम भएको थियो । यो विन्दु २०७६ फागुन १५ गतेको शेयर कारोबार दिन भएको हो । तर, १६०० को विन्दुमा यो वर्ष परिसूचक एक दिन पनि टिक्न सकेन । शेयर कारोबार भएको अर्काे दिन फागुन १८ गते परिसूचक घटेर १५९१.३६ विन्दुमा पुग्यो । यो दिन २०७६ सालकै सर्वाधिक शेयर कारोबार भएको थियो ।
२०७६ सालमा सर्वाधिक कारोबार
यो वर्ष सर्वाधिक शेयर कारोबार भएको दिन ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत फागुन १८ गते यो वर्षकै सर्वाधिक कारोबार ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै फागुन १५ गते ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो भने फागुन १४ गते ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
यो वर्षको न्यून कारोबार
यो वर्ष न्यून शेयर कारोबार असोज २३ गते भएको थियो । यो दिन ६ करोड ३८ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै वर्षको अन्तिम कारोबार दिन पनि ४८ लाख ५ सय २७ कित्ता शेयर १९ करोड ४६ लाख ४२ हजार रुपैयाँमा खरीदविक्री भएको थियो । यो दिन कोरोना भाइसको त्रासका कारण बजारमा लगानीकर्ताले शेयर कारोबारमा खासै इच्छा देखाएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x